काठमाडौं- १३औं साफ च्याम्पियनसिप अन्तर्गत घरेलु टोली माल्दिभ्सले चौथो चरणको पहिलो खेलमा श्रीलंकामाथि जित हात पारेको छ।
आइतबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले श्रीलंकालाई १–० ले हराएको हो। योसँगै माल्दिभ्सले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
माल्दिभ्सको जितमा अलि अश्फाकले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको छैटौं मिनेटमा हेडरमार्फत् गोल गरेका थिए।
यसअघि पहिलो खेलमा नेपालसँग १-० ले पराजित भएको माल्दिभ्सले दोस्रो खेलमा बंगलादेशलाई २-० ले पराजित गरेको थियो। यता, १ अंक जोडेको श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ।
माल्दिभ्सको जितले नेपाललाई फाइनल पुग्न केही कठिनाइ बनाएको छ। भारतले फाइनल खेल्न अब नेपाललाई पराजित गर्नुपर्छ। यस्तै, अन्तिम खेलमा माल्दिभ्समाथि पनि जित पार्नुपर्छ।
नेपालले आज भारतलाई हराए भारत बाहिरिनेछ भने नेपाल फाइनलमा पुग्नेछ। नेपाललाई फाइनल पुग्न भारतविरुद्ध बराबरी खेलेर अर्को खेलमा बंगलादेशसँग अंक जोड्नुपर्छ।
भारतसँग बराबर भएर बंगलादेशसँग पराजित भए नेपालका लागि अर्को खेलमा भारतले जित वा बराबरी खेल्नुपर्ने हुन्छ।
अंक तालिकामा नेपाल २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ। माल्दिभ्सले ३ खेलमा ६ अंक जोड्दै दोस्रो स्थानमा छ।
बंगलादेश ३ खेलमा ४ अंक तथा भारत २ खेलमा २ अंक जोड्दै तेस्रो र चौथो स्थानमा छन्। श्रीलंका ४ खेलमा १ अंक जोड्दै बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।