काठमाडौं- आरसी ३२ फुटबल एकेडेमी, सुर्खेत ‘सी’ डिभिजन लिगमा छनोट भएको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार सम्पन्न नकआउटको आफ्नो पोलको अन्तिम खेलमा समाजसेवी क्लब झापालाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै आरसी ३२ सी डिभिजनको लागि छनोट भएको हो।
निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट लिइएको थियो।
आरसी ३२ का पाँच खेलाडीले गोल गर्दा समाजसेवी क्लबको चौथो पेनाल्टीलाई मुकेश घर्ती मगरले बचाए।
त्यसअघि खेलको १२औं मिनेटमा बविन बोहोराको गोलबाट आरसी ३२ ले अग्रता लिएको थियो। १९औं मिनेटमा खगेन्द्र बयरकोटीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। २९औं मिनेटमा विवेक सन्तोषीले गोल गर्दै आरसी ३२ लाई पहिलो हाफमा २-१ को अग्रता दिलाए।
५०औं मिनेटमा हरिबहादुर आले मगरले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।