काठमाडौं– फिफा विश्वकपको युरोपियन छनोटमा इंग्ल्यान्डले जित निकालेको छ। इंग्ल्यान्डले घरेलु टोली एन्डोरामाथि ५–० को फराकिलो जित निकालेको हो।
इंग्ल्यान्डको जितमा बेन चिलवेल, बुकायो साका, ट्याम्मी अब्राहम, जेम्स वार्ड प्रोज र ज्याक ग्रेलिसले समान एक/एक गोल गरे।
एन्डोरामा शनिबार राति भएको खेलको १७औं मिनेटमा बेन चिलवेलको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो। उनले जाडोन सान्चोको पासमा गोल गरेका थिए। खेलको ४०औं मिनेटमा फिल फोडेनको पासमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर बनाए।
खेलको ५९औं मिनेटमा सान्चोको पासमा ट्याम्मी अब्राहमले गोल गरेपछि इंग्ल्यान्ड खेलमा ३–० ले अघि रह्यो। ७९औं मिनेटमा जेम्स वार्ड प्रोजले पेनाल्टी चुकाएपनि रिवाउन्डमा गोल गर्दै इंग्ल्यान्डलाई फराकिलो जिततर्फ अग्रसर गराए।
खेलको ८६औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै इंग्ल्यान्डलाई ५–० को फराकिलो जित दिलाए। उनले साम जोनस्टोनको पासमा गोल गरेका थिए।
जितपछि समूह ‘आई’ मा अपराजित इंग्ल्यान्डको ७ खेलबाट १९ अंक पुगेको छ। इंग्ल्यान्ड समूहको शीर्षस्थानमा रहेको छ भने पराजित एन्डोरा ३ अंकका साथ पाँचौ स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।