काठमाडौं– माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (आइतबार) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र भारतबीचको खेल मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ। सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ।
भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ।
प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो। लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ।
साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।
भारत २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारत नेपालविरुद्ध स्पस्ट ३ अंकको खोजीमा हुनेछ। भारतविरुद्धको खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन्।
भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पुर्णरुपमा हाबी छ।
नेपालविरुद्ध भारतले १४ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।
पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।