काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अल्मुताइरी नेपालले भारतसँगको खेल जित्ने सम्भावना १ प्रतिशत मात्रै रहेको बताएका छन्।
माल्दिभ्समा जारी १३औं साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको खेल अघि बोल्दै अल्मुताइरीले भारत दक्षिण एसियाको उत्कृष्ट टोली भएको भन्दै भोलिको खेल कठिन हुने संकेत गरेका हुन्।
‘भारत सात पटकको विजेता हो। यू-२३ टोलीले नै उपाधि जितेको इतिहास छ,’ उनले भने,‘भोलिको खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ , बराबरी हुने सम्भावना ४ प्रतिशत छ र नेपालले जित्ने सम्भावना १ प्रतिशत छ।’
यद्यपि, भारत बलियो भएपनि नेपाली टोलीले डराएर भने नखेल्ने उनले बताए। ‘विश्व वरीयतामा हामीभन्दा भारत निकै माथि छ। तर, हामी उनीहरुसँग डराउँदैनौं। सम्मान गर्छौं,’ उनले भने,‘हामी जित्नका लागि प्रयास गर्नेछौं।’
मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले भोलि आइतबार भारतको सामाना गर्नेछ। नेपाल र भारतबीचको नेपाली समय अनुसार खेल राति ९:४५ बजे सुरु हुनेछ।
अल्मुताइरीकै प्रशिक्षणमा नेपाली टोलीले गत महिला दशरथ रंगशालामा भारतविरुद्ध २ मैत्रीपूर्ण खेल जितेको थियो। पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी भएको थियो भने दोस्रो खेलमा भारत २–१ विजयी भएको थियो।
यता, राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले भारतविरुद्धको खेलका लागि तयार रहेको प्रतिकृया दिएका छन्।
‘हामी लक्ष्यमा पुग्नका लागि एक कदम पछाडि छौं,’ उनले भने,‘दुई कदम अघि बढिसकेका छौं। भारतविरुद्धको खेल हाम्रो लागि अर्को एउटा कदम हो। भारत बलियो टोली हो, तर हामी पनि कमजोर भने छैनौं।’
उनले साफ जित्ने सपना आफ्नो मात्रै नभएको भन्दै यसलाई पूरा गर्न लडाइँ जारी रहेको बताए।
‘मेरो मात्र हैन सारा नेपाली र फुटबल प्रेमीको सपना हो। सपना देखेपछि नै लक्ष्यमा पुगिने हो। सपनालाई पूरा गर्न हामी हरेक दिन लडाइँ गरिरहेका छौं,’ उनले भने,‘त्यो सपना पूरा गर्नका लागि हामी सक्दो प्रयास गर्ने छौं।’
जारी प्रतियोगितामा आयोजक माल्दिभ्स, नेपाल र बंगलादेशले समान २ खेल खेल्दा बंगलादेश र श्रीलंकाले ३ खेल खेलिसकेका छन्।
अंकतालिकामा नेपाल ६ अंकका साथ शीर्षस्थानमा छ भने बंगलादेशको ४ अंकसहित दोस्रो स्थानमा छ।
माल्दिभ्सको ३ अंक र भारतको २ अंक छ। १ अंकका साथ अंकतालिको पुछारमा रहेको श्रीलंका च्याम्पियनसिपबाट बाहिरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।