न्याय नपाए गोरखा जानू भन्थे। म चाहिँ गोरखा गइनँ। ५०० किलोमिटर हिँडेर, गोडाभरी फोका उठ्ने गरि काठमाडौं पनि पसिनँ। काठमाडौं आएर माइतीघर मण्डलमा धर्ना पनि बसिनँ। धर्ना नबसेकोले प्रहरी खोरमा पनि म पुगिनँ। मलाई पनि न्याय नै चाहिएको थियो। भुइँमान्छेलाई भुइँको न्याय चाहिएकोले होला, भुइँभुइँ सुइँ..सुइँ... हिँड्दै आएँ।
मलाई हावातालमा न्याय चाहिएको थियो। त्यसैले हवाईजहाजमै उडेर काठमाडौं आएँ। ज्वाइँसापले मेरो न्यायको सबै बन्दोबस्त मिलाइसक्नु भएको थियो। आएपछि माइतीघर मण्डलतिर किन, सिधै न्यूरोडतिर हानिएँ। दशैंको भीडभाड छिचोल्दै गतिलो दौरासुरुवाल सिलाएँ।
दौरासुरुवाल सिलाउँदा ‘हुनेवाला मन्त्रीको दौरासुरुवाल हो’ भनेर पसलेलाई पनि भनिनँ। त्यसो भन्यो भने दौरासुरुवाल नै नसिलाउला भन्ने डर। दौरासुरुवाल तयार भएपछि कोट पनि राम्रै किनेँ, अनि नानाथरी समाचार पढेर खिस्स हाँस्दै एक साता बिताएँ। एक दिन यस्सो अन्तरवार्ता पनि दिन भ्याएँ। एक साता मलाई एक वर्षजस्तो भयो। मेरो नाममा सहमति भएर मात्र मन्त्रिमण्डलले पूर्णता नपाउँदो रहेछ। हिजो आफैं मरिमेटेको पार्टी, अहिले आफू सक्रिय छैन। आफू सक्रिय नभएकाले म प्रधानमन्त्रीको पार्टी भन्छु। प्रधानमन्त्रीको पार्टीमा गुट कति कति। गुटका झगडा मिलाउँदै हैरान। माओवादीमा सबै मन्त्री बन्न टक्रिए रे। समाजवादीहरुको हालत उस्तै। ३-३ महिना आलोपालो सबैलाई मन्त्री बनाउने भनेर फकाउँदै रहेछन् समाजवादीहरु। सुरुको लटमा साहुहरुले पालो पाएछन्। साहुहरुसँगै अरु एक दुईजना नेताले पनि पालो पाएछन्।
प्रधानमन्त्रीको प्रजातान्त्रिक पार्टीमा अचम्मको नियम छ। हुन त म पनि अलिअलि त्यही पाटीकै मान्छे हुँ। बाहुन, क्षेत्री बाहेक अरुले मन्त्री खान नमिल्ने नयाँ गोप्य नियम छ त्यो पार्टीमा। पुरुषबाहेक अरुले मन्त्री खान नमिल्ने अघोषित अर्को कानुन पनि छ। अघोषित नियम कानुन सार्वजनिक गर्न पनि नमिल्ने। यो कानुन कार्यान्वयन गर्न अन्तिम समयमा प्रधानमन्त्री कसोकसो डराउनुभो। सपनामा कदमजमको भूतले तर्साएछ कि? एकजना महिला र एकजना चौधरी थरका माननीयले मन्त्री बन्ने मौका पाउनुभो। यसो गर्नुपर्दा प्रधानमन्त्रीको पार्टीले बिटुलिएको महसुस गरेको छ भन्ने सुनेको छु। सायद रुद्रीसुद्री लगाएर प्रधानमन्त्रीको पार्टी कार्यालय छिटै चोख्याउछन् होला। देशको प्रथम महिला यति धेरै तगडा हुनुहुन्छ, यति भएपछि महिला मन्त्री नै किन चाहियो? केही दिन अघिसम्म प्रधानमन्त्री कड्किँदै हुनुहुन्थ्यो रे। पछि कसरी एक जना महिलालाई मन्त्री बनाउन टक्रिनुभयो? मैले अहिलेसम्म बुझ्न सकेको छैन।
मन्त्री छान्न मेरो ज्वाइँ जस्तो सिपालु त कोही नाइँ। एक जनाको नाममा पासा फालेर हल्लाखल्ला मच्चाइदिनुभो र प्रधानमन्त्रीको मान्छेजस्तो बनाइदिएर मलाई ट्याक्क मन्त्री बनाइदिनुभो। प्रधानमन्त्रीले मेरो मान्छे होइन भन्नुभएन। उहिल्यै म उहाँकै मान्छे थिएँ। बिचमा हराएको मात्र न हुँ।
प्रधानमन्त्रीले मन्त्री छान्ने झमेलो मिलाउन ३ महिना किन लगाउनुभो भन्ने कुरो मैले जति बढी कसले बुझेको छ र? जेठानको हैसियतमा उहाँ (मेरा ज्वाइँसाप)ले मलाई मन्त्री बनाउनु पर्ने थियो। म मन्त्री बनेपछि मिडिया अरिंगालझैं खनिने निश्चित थियो। सडक प्रदर्शन पनि हुनसक्थ्यो। दशैंको मेसोमा मन्त्री बनाए विरोध पानीको फोका झैं फुट्ने विश्वास दिलाउनुभो ज्वाइँसापले। प्रधानमन्त्रीले मान्नुभो। अनि म ट्याक्क मन्त्री बनेँ। अरु हिस्स परे।
मलाई मन्त्री बनाउनुअघि ज्वाइँसापले एउटा हल्ला फिजाउनुभो। मन्त्री पदमा उहाँकै अफिसको एउटा कारिन्दाको भाग छुट्याएको भनेर। यति भएपछि विरोधको आवाज चर्को भैहाल्यो। ‘कहाँ मैले मन्त्री बनाउँछु? मन्त्री त प्रधानमन्त्रीले बनाउनुहुन्छ। अब हुँदाहुँदा उहाँकै पार्टीको फलानोलाई मन्त्री बनाउनसमेत मैले दबाब दियो भनेर हल्ला फिजाइएछ।’
उहाँले यस्तो भनिदिएपछि दुनियाँ एकछिन रनभुल्ल पर्यो। दुनियाँ रनभुल्ल परे पनि पत्रकार रनभुल्लमा परेनन्। नाता खोतलिदिएर हैरान बनाए। वास्तवमा मेरो नाममा कसैले हल्ला फिजाएकै थिएन। उहाँले नै आइडिया लगाएर हल्ला फिजाइदिनुभो। कांग्रेस त म छँदै थिएँ। तर, कांग्रेस भएर मैले मन्त्री पाएको हुँदै होइन। म सांसद होइन। महाधिवेशन प्रतिनिधि पनि होइन। कांग्रेसमा मन्त्री बन्न यति सजिलो कहाँ छ र?
ज्वाइँसाप केही महिनाअघि ससुराली आउनुभएको थियो। ठट्टैठट्टामा तपाईंलाई मन्त्री बन्न रहर छ? भनेर सोध्दा म त तर्सिएको थिएँ। ‘रेडक्रसको मन्त्री भन्नुभा हो र ज्वाइँसाप?’, मैले सोधेँ। ‘कहाँ रेडक्रसको मन्त्री, केन्द्र सरकारको मन्त्री’, उहाँले भन्नुभो। प्रदेश सांसद बनेको भाइ त मन्त्री बन्न सक्या छैन, म महाधिवेशन प्रतिनिधि बन्नसमेत नसकेको मान्छे कांग्रेसमा केको मन्त्री बन्न सकूला र? मैले त कुरो पटक्कै पत्याएकै थिइनँ।
प्रधानमन्त्रीको पुरानो मान्छे त हुँ। तर, पुरानोमै सीमित थिएँ। नयाँ बन्न सकेको थिइनँ। ज्वाइँसापलाई त्यही भनेँ। ‘म नयाँ बनाइदिउँला’, उहाँले यसो भन्दा खासै पत्यार लागेको थिएन। आफ्नो कारिन्दाको नामको हल्ला फिजाएर खण्डन गर्ने क्रममा मेरो नाम घुसाएर प्रधानमन्त्रीको मान्छे बनाइदिने उहाँको ट्याक्टिस चाहिँ मान्नैपर्छ।
नेपालमा शपथ खाएपछि खायो खायो। नखाइन्जेल हो तनाव हुने। खाएपछि सक्कियो। अब कसले ओराल्न सक्ने मलाई? २-४ दिन विरोध हुन्छ। विरोध सेलाएपछि घुमफिर र खानपिनका खबर छापेर दशैंभरलाई पत्रिका बन्द हुन्छन्। अनलाइनहरु घुमघामका फोटाफिचरमै अल्झिन्छन्। संसद् खुल्ने कहिले हो कहिले। ज्वाइँसापले नयाँ–नयाँ काम गर्नुहुन्छ। मेरो खबर त कता पुरिन्छ कता। एक-दुईटा ड्याङडुङ निर्णय पड्काइदिएपछि मन्त्रीज्यू मन्त्रीज्यू भनिहाल्न पनि सक्छन्। जेठानले मन्त्री पड्काएको खबर एकाध दिनमै बेपत्ता हुन्छ भन्ने मेरो विश्वास छ। राजाले युवराज घोषणा गर्दाकै ट्याक्टिस प्रधानमन्त्रीले अपनाउनुभएको हो। प्रधानमन्त्री पनि मेरो ज्वाइँजस्तै बाठो हुनुहुन्छ।
मेरो नाममा गठबन्धन एकढिक्का छ भन्ने कुरा मिडियालाई थाहै छैन। यो मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछिको निर्विरोध मान्छे मै हुँ। प्रचण्डजीले म अलिअलि विरोध गरेझैं गर्छु है प्रधानमन्त्रीज्यू, माइण्ड नगर्नुहोला भन्नुभएको छ। उहाँको चेपारे पारा कसले नबुझ्ने? यो मन्त्रिपरिषद्मा वरीयतामा जता भए पनि प्रधानमन्त्रीपछिको पावरफूल मन्त्री पनि मै हुँ। किनभने म ज्वाइँईंको प्रतिनिधि। मेरो ज्वाइँभन्दा पावरफूल को छ यो देशमा? मेरो ज्वाइँले चाहनुभो भने वर्तमान प्रधानमन्त्री मात्र होइन, भूतपूर्व प्रधानमन्त्री सबैलाई एकै झट्कामा गुटमुट्याइदिन सक्नुहुन्छ। उहाँ पावरफूल ठाउँमा हुनुहुन्छ। यी नेताहरुको सुक्को इज्जत छैन। सप्पैलाई गुट्मुट्याइदिनुभो भने उहाँ आफैं प्रधानमन्त्री पनि बन्न सक्नुहुन्छ। तर, उहाँमा त्यस्तो गर्ने चाहिँ रहर छैन। लोकमान जस्तो महत्वाकांक्षी चाहिँ हुनुहुन्न मेरो ज्वाइँ। नेतालाई मुसो खेलाएझैं खेलाएर नातापाता र साथीभाइलाई जागिर लगाइदिने सोखभन्दा माथिको महत्वाकांक्षा उहाँमा छैन।
खासमा मेरो ज्वाइँ न्यायप्रेमी पनि हुनुहुन्छ। नातापाता, साथीभाइ र इष्टमित्रलाई न्याय गर्ने खुब सोख छ उहाँको। राजारानीको फोटो च्यातेर २०४० सालमै चर्चित भएको मान्छे म। फोटो च्यातेपछि भूमिगत बस्नुपर्यो। झन्डै ज्यान गएथ्यो। राजनीति गर्दै जाँदा प्रधानमन्त्रीले पत्याए पनि जनताले पत्याएनन्। आमचुनाव न पार्टी चुनाव, कतै न्याय नमिलेपछि खुम्चिएर बसेको थिएँ। म खुम्चिएर बसेको मेरो ज्वाइँलाई मन परेन। अनि फ्याट्ट न्याय मिलाइदिनुभो। दुनियाँ हेरेको हेर्यै। महाधिवेशन प्रतिनिधि र सांसद बन्नुभन्दा त यही रमाइलो। यही पद काइदाको।
मेरा नाममा धेरै समय विरोध होला भन्ने मैले सोचेको छैन। दिन दशा बिग्रेको छ भने त पद उड्न पनि सक्छ। थामिनसक्नु विरोध आएछ भने पनि केही छैन। पद गएपनि म नेपाल सरकारको मन्त्री भइहालें। अब टोल सुधार समिति, महायज्ञ, वार्डभेला, स्कूलका बार्षिकोत्सव र पार्टीका छोटामोटा बैठकमा सबैले मन्त्रीज्यू भनिहाल्नेछन्। त्यति भएपछि मलाई न्याय मिलिगो। लामै समय मन्त्री खान्छु भन्नेमा म धेरै नै विश्वस्त छु। त्यसैले पद खुस्किने तर्क गरेर मन अमिलो बनाउन्नँ। कसरी खुस्किन्छ मेरो पद?
नेपालमा न्याय पाउने यसरी नै हो। ५०० किलोमिटर हिँडेर, खुट्टाभरी फोका उठाएर, माइतीघर मण्डलमा धर्ना बसेर न्याय पाइँदैन। नपत्याए मलाई सोध्नू। मेरो ज्वाइँसापलाई सोध्नू। न्याय पाउने उद्योगधन्धा कस्तो हुन्छ, मैले बुझेको छु। त्यसैले त उद्योगधन्धा मन्त्री बनेको छु। मेरो पालामा उद्योगधन्धा राम्रै फस्टाउनेछ। म पनि फस्टाउनेछु। म फस्टाउनु भनेको देशलाई न्याय मिल्नु हो। देशलाई नाफा हुनु हो। देशलाई न्याय दिलाउनु मेरो एक मात्र कर्तव्य हो। ज्वाइँसाप त्यसै भन्नुहुन्छ। मेरो नियुक्तिले प्रधानमन्त्रीलाई पनि न्याय मिलेको छ। मेरो ज्वाइँलाई न्याय भएको छ। मेरो ज्वाइँलाई न्याय मिल्नु भनेको देशलाई न्याय मिल्नु हो। ५०० किलोमिटर हिँडेर न्याय खोज्नेहरुको कुरो सुन्नतिर पत्रकार लागिदिए मलाई हाइसन्चो हुन्थ्यो। पत्रकार उतै अल्झिन्थे। मैले चलाउने उद्योगधन्धा काइदाले चलिरहन्थ्यो। पत्रकारलाई त्यता अल्झाउने केही उपाय छैन? छ भने मलाई खुसुक्क भन्नुस् है।
मनोवाद सकियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।