बलिउडमा स्थापित मान्यताभन्दा बाहिरबाट प्रवेश गरेका अभिनेतामध्येमा पर्छन्, इरफान खान। उनको भौतिक शरीरले दुनियाँ छाडिसक्यो। तर, उनले अभिनय गरेका सिनेमाहरु अहिले पनि उत्तिकै बहसको विषय बन्छन्।
सामान्य मान्छेको कथा भन्ने फिल्ममा खेल्ने इरफानले आफ्नो जीवन र आफूले अभिनय गरिरहेको भूमिकामा धेरै अन्तर राखेनन्। जस्तो फिल्ममा देखिन्थे उस्तै बाँचे, सरल र सामान्य। बलिउडको एक सुत्रीय ढाँचाका सिनेमा र ‘हाइफाई’ जीवनशैलीभन्दा बाहिर आएर काम गरेका उनलाई दर्शकले आफूसँगै पाए। त्यसैले रुचाए।
इरफानले ठूलो पर्दामा सन् १९८८ मा प्रवेश गरेका थिए, ‘सलाम बम्बे’ नामक फिल्ममार्फत। तर, उक्त फिल्ममा उनी केबल डेढ मिनेट मात्र देखिए। चिनिन पाएनन्। त्यति बेला उनी २१ वर्षका थिए।
सलाम बम्बेपछि उनले ठूलो पर्दामा लामो समय मौका पाएनन्। तर, सानो पर्दामा क्रियाशील थिए। टेलिभिजनका कार्यक्रमदेखि रंगमञ्चमा सक्रिय भए।
उनले आफ्नो अभिनयको स्वाद दर्शकलाई चखाउन पाएको पहिलो फिल्म भने ‘हासिल’ हो। उनलाई सन् २००३ मा तिग्मान्सु धुलियाले यो फिल्ममा ब्रेक दिएका थिए। यही फिल्मबाट उनले आफ्नो पहिचान मात्र बनाएनन्, स्थापित नै भए।
यो लेख इरफानको पहिलो फिल्म ‘हासिल’कै वरपर रहेर तयार पारिएको छ।
हासिलमा इरफान रणविजय सिंहको भूमिकामा छन्। राजनीतिक पृष्ठभूमिमा बनेको फिल्मलाई तत्कालीन समयमा सिनेमाघरमा थोरैले मात्रै हेरेका थिए। बलिउडको मुलधारको मान्यताअनुसार त्यति बेला फिल्ममा कुनै स्टारकास्ट वा नाम चलेको कलाकारलाई खेलाउनु पथ्र्यो। तर, तिग्मान्सु धुलिया मान्यता विपरीत गए।
हासिलमा त्यति बेला नाम चलेका कलाकार आशुतोष राणा मात्रै थिए। उनको भूमिका पनि फिल्मको सुरुवाती केही दृश्यमा मात्रै थियो।
त्यति बेलाका दर्शकको रुचाएका अभिनेता अनिल कपुर र ग्रेसी सिंहले अभिनय गरेको फिल्म ‘अरमान’ पनि हासिलसँगै प्रदर्शन भएको थियो। हासिललाई ‘मिस–कास्टिङ’का कारण ‘फ्लप’ भएको ठानियो। तर, अरमानले पनि त्यत्ति राम्रो व्यापार गर्न सकेन।
जब फिल्म सिनेमाघरबाट सिडी प्लेयर, ल्यापटपमा हेर्न थालियो, हासिलको एक पटक फेरि पुनःजन्म भयो। फिल्म एक पटक मात्रै होइन, पटक पटक हेरिन थालियो। व्यापारिक हिसाबमा फिल्मले राम्रो कमाई नगरे पनि इरफानको अभिनय, धुलियाको निर्देशनलाई दर्शकले रुचाए। प्रदर्शन भएको करिब एक दर्शकपछि हासिलले फेरि हिन्दी फिल्मको बजारलाई तताएको थियो।
प्रेम र विद्यार्थी राजनीतिको भूमरी
हासिल भारतीय सिनेक्षेत्रका थोरैमध्येको एक ‘कल्ट क्लासिक’ फिल्म हो। हलिउडको ‘पल्प फिक्सन’जस्तै यो फिल्म भारतीय दर्शकमाझमा सदावहार लोकप्रिय छ। मुलधारभन्दा बाहिर आएर बनेका फिल्म जसलाई समयसँगै दोहो¥याएर हेरिन्छ, जसका संवादहरुलाई उधृत गरिन्छ, त्यस्ता फिल्म कल्ट क्लासिकमा पर्छन्। हासिल तीनै मध्येको एक हो।
जिम्मी शेरगिल, ऋसिता भट्ट, इरफान खान र आशुतोष रानाको मूख्य भूमिका रहेको फिल्म भारतको उत्तर प्रदेशको अलाहवादको पृष्ठभूमिमा छ। विद्यार्थी राजनीीतमा आधारित अढाई घण्टाको फिल्म मुख्य गरी राजनीतिभित्रको अनैतिकतालाई देखाइएको छ।
अलाहवाद विश्वविद्यालयमा अनिरुद्ध (जिम्मी शेरगिल) र निहारिका (ऋसिता भट्ट)को भेट हुन्छ। उनीहरु छोटो समयमा नै प्रेममा बाँधिन्छन्। तर, उनीहरुको प्रेम विश्वविद्यालयको राजनीतिबाट टाढा रहन सक्दैन। गौरीशंकर पाण्डे (आशुतोष राणा) र रणविजय सिंह (इरफान खान) दुई विपरीत राजनीतिक समूहका नेता हुन्छन्।
फिल्ममा विद्यार्थी राजनीतिले प्रेरित भएको हिंसालाई देखाइएको छ। दुई समूहले सिर्जना गरेको हिंसात्मक परिस्थितिमा अनिरुद्ध र निहारिका प्रेममा पर्छ। रणविजयसँग सहकार्य गरेका अनिरुद्धले आफ्नो प्रेमभन्दा राजनीतिक साथ ठूलो ठान्छ।
फिल्ममा विद्यार्थी राजनीतिले प्रेरित भएको हिंसालाई देखाइएको छ। दुई समूहले सिर्जना गरेको हिंसात्मक परिस्थितिमा अनिरुद्ध र निहारिका प्रेममा पर्छ। रणविजयसँग सहकार्य गरेका अनिरुद्धले आफ्नो प्रेमभन्दा राजनीतिक साथ ठूलो ठान्छ।
कथाले रोचक मोड तब लिन्छ जब अनिरुद्ध आफ्नो प्रेमी, साथीभाइ कसैको पनि कुरा नसुनी रणविजयको साथमा लाग्छ। तर, रणविजयले उसलाई भोटका लागि मात्र प्रयोग गर्छ। आफूसँग के भइरहेको छ भन्ने थाहा पाउनुभन्दा अघि नै अनिरुद्ध राजनीतिको त्यो फोहोर भुमरीमा परिसकेको हुन्छ। त्यो भूमरिबाट फर्किएर फेरि आफ्नो प्रेम प्राप्तिसम्मको कथालाई फिल्ममा देखाइएको छ।
निर्देशक धुलियाले भारतीय विश्वविद्यालयमा हुने विद्यार्थी राजनीतिमाथि फिल्ममार्फत न्याय गरेका छन्। परम्परागत र रुढिवादी परिवारबाट आएकी युवतीको जीवनमा हुने अप्ठ्यारोसँगै विश्वविद्यालयमा छिरेको राजनीतिले विद्यार्थीको जीवनलाई निरिह बनाएको कथालाई फिल्ममा समेटिएको छ।
हासिल तीन पक्षबाट उत्कृष्ट छ– प्लट, संवाद र इरफानको अभिनय। सामान्य र देखिरहेको कथा भए पनि सिनेमाको प्लटलाई दर्शक तान्ने बनाइएको छ। इरफानको अभिनय नकरात्मक भूमिकामा छ, तर यर्थाथपरक र उत्कृष्ट। सिनेमामा भएका संवादहरुमा दर्शकले आफूलाई पाउँछन्।
फिल्मको ‘क्लाइमेक्स’मा अनिरुद्धले भन्छन्– ‘मैले तपाईंलाई आफ्नै दाजु मानेको थिएँ।’
जवाफमा रणविजयले भन्छन्– ‘अरे मैले मान्न भनेको थिएँ?’
यो संवाद जति पटक सुने पनि उत्तिकै उत्कृष्ट र हाँसउठ्दो लाग्छ। उनीहरुको सम्बन्धले राजनीतिमा कोही कसैको आफन्त नहुने र सबैले आफ्नो फाइदाकै लागि अरुलाई प्रयोग गर्ने साबित गरिदिन्छ।
अहिले हेर्दा फिल्मको कथा नौलो नलागे पनि कथाका प्रस्तुतीकरण मौलिक छ। अनावश्यक संवादहरुको अनुपस्थितिले फिल्मलाई उत्तिकै उत्कृष्ट बनाएको छ।
इरफानलाई स्थापित गराएको ‘भिलेन’ भूमिका
हासिल सिनेमाघरमा प्रदर्शनमा आएको १८ वर्षपछि मे २०२१ मा तिग्मान्सु धुलियाले ट्विट गरेका थिए– इरफानलाई हासिलमा उनले गरेको अभिनय सोलेको गब्बर सिंहजस्तै सधैँलाई याद गरिनेमा विश्वास थियो।
भारतीय सिनेक्षेत्रलाई नियाल्दा अभिनयमा कम र अनुहारमा ज्यादा महत्व दिइन्छ। तर, केही अभिनेता यस्ता छन्, जसलाई अनुहार कम र उनीहरुको अभिनयकै कारण याद गरिन्छ।
भारतीय सिनेमाको विस्तार भएको एक शताब्दी मनाउँदै गर्दा उत्कृष्ट संवादहरुको सूची निकालिएको थियो। त्यो सूचीमा उत्कृष्ट १० संवादभित्र एउटा संवाद थियो, जुन आजभन्दा करिब आधा शताब्दी पुरानो फिल्ममा खलनायकले भनेका थिए। त्यो संवाद थियो– ‘कितने आद्मी थे?’
सन् १९७५ मा प्रदर्शनमा आएको रमेश सिप्पी निर्देशित फिल्म ‘शोले’मा खलनायक गब्बर सिंह (अमजद खान)ले बोलेको संवाद थियो, त्यो। सम्भवतः भारतीय सिनेमामा कुनै खलनायकलाई उत्कृष्ट अभिनय गरेकै कारण आलोचना भएको पहिलो फिल्ममा त्यही थियो। अमजदको अभिनय यति उत्कृष्ट थियो कि उनले बोल्ने संवाद, उनले गरेको अभिनयलाई आजसम्म पनि सम्झना गरिन्छ।
इरफानलाई आफूले भूमिका निभाएको पात्र पनि अमजदकै जस्तो इतिहासमा लेखिन्छ भन्ने विश्वास हुनु स्वभाविक थियो।
भारतको ‘नेसनल स्कुल अफ ड्रामा’बाट अभिनयको यात्रा सुरु गरेका इरफानलाई ‘चन्द्रकान्ता’ जस्ता टेलिभिजन श्रृंखलामा पनि अभिनय गर्ने मौका मिलेको थियो। आफ्नो सानो भूमिका रहेको फिल्मबाट ‘अन–नोटिस्ड’ भएका इरफान टेलिभिजन श्रृंखलामार्फत भारतका घरघरमा परिचित भए। उनले करिब डेढ दशक चन्द्राकान्त टेलिभिजन श्रृंखलामा अभिनय गरेर बिताए। मध्यम वर्गीयमा पनि टेलिभिजनको पहुँच बढेको समयमा टेलिभिजन श्रृङ्खलामा उनको यात्रा चलेको थियो।
हासिलले भने इरफानको अभिनयको दायरा टेलिभिजन श्रृङ्खलासम्म मात्रै होइन भन्ने सावित गरिदियो। इरफान बलिउडमा स्थापित नातावादभन्दा फरक पृष्ठभूमिबाट सिने क्षेत्रमा आएका थिए। उनले हासिलमा गरेको अभिनय हरेक भूइँमान्छेसँग मेल खान गयो। आफूले भोट दिएका नेताहरुले फर्किएर नहेर्नु र मान्छेलाई मान्छे नभएर एउटा भोटको रुपमा मात्रै हेरिनुको यथार्थ दर्शकहरुले भोगेका थिए।
फिल्ममा देखाइएको राजनीतिक द्वन्द्व इरफानको अनुहारमा देखिन्छ। उनले अभिनय यथार्थको कसीमा हेर्न सकिन्छ। वास्तवमा फिल्ममा नै कुनै नेतालाई कास्ट गरिएको लाग्छ। हुन त इरफान खलनायकको भूमिकामा थिए। तर, त्यो यति उकृष्ट थियो कि नयाँ कलाकारलाई पहिलो फिल्मबाटै फिल्मफेयर अवार्ड मिल्यो ‘नकरात्मक भूमिकामा उत्कृष्ट अभिनेता’को रुपमा। यो फिल्मबाट उनले दुई अवार्ड पाएका थिए।
हासिलमा गरेको अभिनयले इरफानलाई शोलेको गब्बर सिंहजस्तो ‘अमर’ खलनायक बनायो कि बनाएन, त्यो इतिहासले बताउँछ। तर, हासिल हेरेका दर्शकहरुले इरफानलाई नभएर रणविजय सिंहलाई अवश्य याद राख्नेछन्। उनले बोलेका संवाद, उनको अभिनय, उनको अनुहारको त्यो भाव सबै रणविजयको रुपमा दर्शकलाई याद हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।