काठमाडौं- चाडपर्वलाई थप उल्लासमय बनाउन एनसेलका ग्राहकका लागि विभिन्न योजना सार्वजनिक गरेको छ। उत्सवका बेलामा आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्ट फोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
एनसेल आजियाटा लिमिटेडले दसैं, तिहार र छठ पर्वको अवसरमा बिहीबार (असोज २१) बाट लागू हुने गरी यो आकर्षक योजना सञ्चालनमा ल्याउँदै छ। यस योजनामा धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले एक/एक वटा गरी हरेक हप्ता २१ वटा स्मार्ट फोन पाउने कम्पनीले जनाएको छ।
'यसबाहेक विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता एक स्मार्ट फोन पाउन सक्नेछन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यो योजना पाँच हप्ता अर्थात् कात्तिक २४ गतेसम्म सञ्चालनमा रहने जनाएको छ। यस योजना अवधिमा कूल ११० जना ग्राहकले स्मार्ट फोन पाउने छन्। 'स्मार्ट फोन जित्नका लागि योग्य हुन ग्राहकले माथि उल्लिखित देशहरुबाट कम्तीमा दुई मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ। ब्यालेन्स रिचार्जअन्तर्गत स्मार्ट फोन जित्न योग्य हुनका लागि भने ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ,' कम्पनीले जानकारी दिएको छ।
मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस, यूएईको एतिसलात र डू र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिमकार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै स्मार्ट फोन जित्ने मौका पाउने कम्पनीले जनाएको छ।
यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरुमाझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदै छ। यस कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलालले आ-आफ्ना गीत तथा कमेडियन सुमन कार्कीको हस्यकला मनोरञ्जन प्रस्तुत हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।