काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले अधिवेशन सकिएका पालिकामा आफ्नो पक्षले बहुमत स्थानमा जित निकालेको दाबी गरेको छ। देउवा पक्षले गरेको दाबीमा पूर्ण सत्यता रहेको भने देखिँदैन।
सातै प्रदेशमा आफ्नो पक्ष बहुमतमा रहेको सभापति शेरबहादुर पक्षले दाबी गरेको छ। जबकी, प्रदेश २ मा वडा अधिवेशन नै भएको छैन। वडा अधिवेशन नै नभएको स्थानमा पालिका अधिवेशन हुन सक्दैन।
देउवा पक्षको दाबी अनुसार ६०५ पालिका मध्ये २०५ मा आफ्नो पक्षका सभापति चयन भएका छन्। संस्थापनइतर पक्षले १८० पालिकामा सभापति जितेको देउवा पक्षको दाबी छ।
कृष्णप्रसाद सिटौला पक्षका १६ जना, विजयकुमार गच्छदार पक्षका २ जना र विमलेन्द्र निधि पक्षका २ जना पालिका सभापति विजयी भएको देउवा पक्षले जनाएको भनाइ छ। पालिकामा सभापतिमा विजयी ४९ जना कुनैपनि पक्षमा नखुलेको देउवा पक्षको दाबी छ।
अधिवेशन सकिएका पालिकामा देउवा पक्ष तुलनात्मक रुपमा सुदूरपश्चिममा बलियो देखिएको छ।
सुदूपश्चिमका ५३ पालिकामा देउवा पक्षका सभापति विजयी भएका छन्। सुदूरपश्चिममा अधिवेशन सकिएका ७५ पालिका मध्ये २२ स्थानमा संस्थापनइतरका सभापति विजयी भएका छन्। कैलालीमा भने अधिवेशन भएको छैन।
प्रदेश १ मा १ सय ३६ पालिकामा अधिवेशन सकिएको छ। भोजपुरको षडानन्द नगरपालिकामा अधिवेशन हुन सकेको छैन। अधिवेशन सकिएका स्थान मध्ये ६० पालिकामा आफ्नो पक्षका सभापति चयन भएको संस्थापन समूहले दाबी गरेको छ। प्रदेश १ मा पौडेल पक्षका ४९ जना र सिटौला पक्षका १३ जनाले पालिकामा सभापति जितेको देउवा समूहले निकालेको आंकडा उल्लेख गरिएको छ।
बागमती प्रदेशमा अधिवेशन सकिएका पालिकाहरु मध्येमा आफ्नो पक्ष स्पष्ट बहुमतमा रहेको देउवा समूहको दाबी छ। ९९ पालिकामा सकिएको अधिवेशनमा देउवा पक्षले ५३ स्थानमा सभापति जितेको दाबी गरिएको छ। संस्थापनइतरले बागमतीमा ३३ स्थानमा मात्रै सभापति जितेको देउवा पक्षको दाबी छ। बागमतीमा रसुवामा अधिवेशन हुन सकेको छैन।
गण्डकी प्रदेशमा पनि बहुमत रहेको आकडा निकालिएको छ। ८५ पालिका मध्ये देउवा पक्षले ३९ स्थानमा सभापति जितेको र पौडेल पक्षबाट २७ जनाले पालिका सभापति जित निकालेको बताइएको छ।
लुम्बिनीमा संस्थापन पक्षले ३५ पालिकामा सभापति जित्दा संस्थापनइतरका २९ जना सभापति बनेको दाबी देउवा पक्षको छ।
कर्णालीका पालिकामा ३६ सभापति संस्थापन पक्ष र इतरले २६ पालिका सभापतिमा जितेको आंकडा निकालिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।