काठमाडौं– नेपाली कांग्रेसको दोलखा जिल्ला समिति सभापतिमा बर्मा लामा निर्वाचित भएका छन्।
दोश्रो चरणको मतदान पछि लामा ८७७ मत ल्याएर विजयी भएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय लामाले कृष्ण प्रसाद सिटौला निकट तारा खड्कालाई पराजित गरेका हुन्। खड्काले ४८५ मत प्राप्त गरे। कुल खसेको मत १३७३ रहेको छ।
आइतबार भएको मतदानमा लामाले ६४३, खड्काले ३९७ तथा सभापतिका अन्य प्रत्यासी रुद्र बहादुर खड्का ३५८ र केशव चौंलागाईले ९५ मत ल्याएका थिए। तेस्रो स्थानमा आएका खड्का संस्थापन पक्षका हुन्। उनी १३ औं महाधिवेशनमा जिल्ला सभापति चयन भएका थिए।
निर्वाचित हुनका लागि कुल खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने विधानको व्यवस्था अनुसार आइतबारको निर्वाचनमा पहिलो स्थानमा आएका लामा र खड्का बीच पुन: निर्वाचन भएको हो।
लामाको जीत सँगै संस्थापन इतर पक्षले ६ जिल्लामा नेतृत्व प्राप्त गरेको छ। जिल्ला अधिवेशन सकिएका १० जिल्लामध्ये ४ जिल्लामा सभापति शेर बहादुर देउवा निकट जिल्ला सभापति चयन भएका छन्।
असोज १८ सम्म २१ हिमाली जिल्लाको अधिवेशन सक्ने पार्टीको कार्यतालिका कार्यान्वयन हुन सकेको छैन। २१ मध्य सोमबार साँझसम्म १० जिल्लाको अधिवेशन सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।