काठमाडौं– फुटबल मैदानमा खेलाडीहरुले कला मात्र होइन शारीरिक बल पनि प्रयोग गरिरहेका हुन्छन्। कहिले त हात हालाहालकै अवस्था आउँछ। यस्तो बेला रेफ्रीको भूमिका निकै महत्वपूर्ण हुन्छ।
लव खत्रीले झन्डै तीन दशक फुटबल रेफ्रीको भूमिका निभाए। यति लामो अवधिमा पनि उनी विवादमा परेनन्। यस अर्थमा उनलाई अपवाद नै भने पनि हुन्छ। यसको कारण थियो, हँसमुख स्वभाव र निखारिएको निर्णय।
खत्री भन्थे– ‘खेलमा एक न एक पक्षले त अपजस लगाइहाल्छ। तर, रेफ्री तटस्थ हुनुपर्छ। धेरै खेल खेलाएँ। कति त झगडा नै गर्थे। यद्यपि, मेरो रेफ्री करिअरमा विवाद भएको थाहा छैन।’ यिनै विवादरहित रेफ्रीले सोमबार संसारबाट बिदा लिएका छन्।
‘मर्निङ वाक’ गरेर फर्किएपछि खत्री नुहाउनका लागि बाथरुम पसेका थिए। तर, बाथरुममै चिप्लिए र भुईंमा बजारिन पुगे। टाउकोमा चोट लागेपछि उनी अचेत भए। परिवारले तत्कालै नख्खुस्थित मेडिसिटी अस्पताल पुर्याए। तर, अस्पतालले त्यहाँ पुर्याउने बित्तिकै मृत घोषणा गरेको ‘ए’ डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रले बताए।
खत्रीलाई सानै उमेरदेखि फुटबलप्रति मोह थियो। विद्यालय र गाउँघरतिर फुटबल खेल्दा नै उनले गतिलो खेलाडी बन्ने संकेत दिएका थिए। त्यही क्रममा उनले हेल्गर ओभरम्यानको यू–१६ टिममार्फत फुटबलसँग व्यावसायिक नाता जोडेका थिए।
त्यसपछि २०४६ सालमा कक्षा ९ मा पढ्दैगर्दा ‘ए’ डिभिजन क्लबबाट खेल्ने मौका पाए। उनले त्यसअघि नै राष्ट्रिय टोलीबाट खेल्ने सपना देखिसकेका थिए। त्यसैले उनले ‘ए’ डिभिजन लिग खेल्ने प्रस्ताव स्वीकार गरे।
तर, गाउँघर र शहरको फुटबलको वातावरण धेरै फरक थियो। त्यसैले मैदानमा जम्न उनले निकै मिहिनेत गरे। तर, राष्ट्रिय जर्सीमा फुटबल खेल्ने उनको इच्छा भने पूरा भएन। कहिले सिनियर खेलाडीको छायाँ त कहिले बिग्रँदो फमका कारण उनी घरेलु प्रतियोगिताबाट माथि उठ्न सकेनन्।
उनले एक दशक विभिन्न क्लबबाट फुटबल खेले। फ्रेन्डस् क्लब, जाउलाखेल युथ क्लब, बिग्रेड ब्वाइज क्लब र थ्री स्टार क्लबको जर्सीमा उनी मैदानमा उत्रिए। खेलाडीको रुपमा धेरै चर्चा नमिले पनि फुटबलको विकल्प सोचेनन्। बरु आफूलाई सुधार्ने प्रयास गर्दै गए। यसकै प्रतिफल थियो ‘सिलिगुडी लिग।’
उनी २०५५ सालतिर यो लिग खेल्न भारतको सिलिगुडी पुगे। केही समय फुटबल खेलेर मैदानबाटै बिदा लिन चाहन्थे। तर, जीवन सोचेजस्तो कहाँ हुन्छ र? कहिलेकाहीँ नसोचेको घटना हुन्छ। सिलिगुडी लिगमा देशबन्धु क्लबको जर्सीमा मैदान उत्रिएका उनको अन्तिम प्रतियोगिता त्यही भयो। त्यहाँ दुई खेल मात्र खेले। ‘दोस्रो खेलको लास्ट म्याचतिर होला उनको देब्रे खुट्टामा चोट लाग्यो’, मिश्र भन्छन्, ‘त्यसपछि खेलाडीका रूपमा उनी कहिल्यै मैदान फर्किएनन्।’
यही चोटका कारण उनको जीवनको बाटो बदलियो।
चोट बोकेर काठमाडौं फर्किएका उनलाई चिकित्सकले फेरि मैदान नफर्किने सल्लाह दिए। खेल जीवनको अन्त्यतिर भए पनि उनलाई राष्ट्रिय जर्सीमा देखिनु थियो। तर, त्यो संभव थिएन। मैदानप्रति उनको मोह भने उस्तै थियो। त्यसैले खेलाडीको रुपमा नभए पनि उनी केही समयपछि रेफ्रीको रुपमा मैदान फर्किए। त्यसपछि सुरु भयो, उनको जीवनको दोस्रो हाफ।
उनी बेलाबखत सुनाउँथे– रेफ्री हुन पनि मलाई सानैबाट इच्छा थियो। त्यसैले रेफ्री बन्ने निर्णयमा पुगेँ।
लवले सन् २००५ मा बांगलादेशमा ‘दक्षिण एसियाली यु-१४ फुटबल फेस्टिभल’ खेलाएर रेफ्रीका रूपमा अन्तर्राष्ट्रिय करिअर सुरु गरे। त्यही प्रतियोगिताका बेला उनले एसियाली फुटबल महासंघ (एएफसी) को रेफ्री कोर्स गर्ने मौका पाए। घाइते भएको तीन वर्षमा उनी नयाँ उत्साहका साथ रेफ्री बनेर मैदानमा उत्रिए।
उनले घरेलु फुटबलको रेफ्री जीवन भने ‘सी’ डिभिजनको खेलबाट सुरु गरे। तर, परिपक्व निर्णय क्षमताका कारण उनी चर्चामा रहे। तत्काल ठीक निर्णय गर्नसक्ने क्षमताका कारण वरिष्ठ रेफ्रीहरुलाई लाइनमा झन्डा उठाउन दिँदा उनी मैदानमा सिटी फुकिरहेका हुन्थे।
उनले कुनै दिन भनेका थिए, ‘पहिला त क्लबस्तरीय खेलहरूमा धेरै झगडा हुन्थ्यो। तर, मैले ९० मिनेट सहजै खेलाएको देख्दा सिनियर रेफ्रीहरुले स्याबास् भन्नुहुन्थ्यो। त्यसपछि झन् मलाई जोश आयो। अनि करिअरमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन।’ उनले पाएको सफलता लोभलाग्दो भएको मिश्र बताउँछन्।
‘सी’ डिभिजनमा पाएको सफलतापछि २०६० सालमा उनलाई ‘ए’ डिभिजनको खेल खेलाउने प्रस्ताव आयो। यो जिम्मेवारी पनि सहजै पूरा गरे। हुन त त्यस समय फिफाको कोर्स गरेका रेफ्री पर्याप्त थिएनन्। घरेलु प्रतियोगितामा हुने चापका कारण रेफ्रीको माग उच्च थियो। त्यही कारणले उनी यो क्षेत्रमा जम्न पाए।
खेलाडीको रुपमा नचम्किएका उनी रेफ्रीको भूमिकामा चम्किएपछि हौसाला मिल्दै गयो। त्यसपछि भने उनले आफूलाई काठमाडौंका फुटबल प्रतियोगितामा राम्रैसँग परिचित गराए।
सन् २००८ मा उनीमाथि जिम्मेवारी पनि थपियो। लवले फिफा रेफ्रीको परिचय बनाए। काठमाडौंमा मात्रै सिमित लव अब राजधानीबाहिर पनि पुग्ने थाले।
उनले फिफाको ब्याच पाएपछि पहिलो पटक ‘आहा रारा गोल्डकप’को उद्घाटन खेलमा सिट्ठी फुक्ने मौका पाए। त्यसपछि लगातार ८/१० पटक यो प्रतियोगिता खेलाए।
त्यसपछि उनले मोफसलका विभिन्न प्रतियोगितासँगै आइएफए क्लब फुटबल प्रतियोगिता, किङस क्लब फुटबल प्रतियोगिता, साउथ एसिएन गेम, साफ गेम यु– १९ लगायत दर्जनौं अन्तर्राष्ट्रिय खेलमा सिटी फुके। उनले सन् २००९ मा अन्तर्राष्ट्रियस्तरको प्रधानमन्त्री कप फुटबल प्रतियोगिता खेलाए। पाकिस्तान र श्रीलंकाबीचको खेल खेलाएका उनले त्यहाँ पनि उत्तिकै तारिफ पाए।
१८ वर्ष रेफ्रीको भूमिका निर्बाह गरेका लवले पाँचथरमा भएको गोल्डकपबाट मैदान नफर्कने गरी बिदा लिए। त्यो अन्तिम खेल उनले पुस २०७४ मा खेलाएका थिए। मैदानबाट बिदा लिनु उनकाे बाध्यता थियो। ‘फिटनेस’ र हेल्थ राम्रो हुँदाहुँदै अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनको म्याद थपेन। तर, उनी बल्ल ४६ वर्ष पुग्दै थिए। अब्बल रेफ्रीको रूपमा उनको परिचय यहीँ सकियो।
‘संयोग भनौं या भाग्य, फिफा रेफ्री भएपछि पोखरामा पहिलो उद्घाटन खेल खेलाए। अन्तिम खेल पाँचथरमा फाइनल खेलाए’, मिश्र भन्छन्, ‘रेफ्रीहरूको जीवनमा यस्तो संयोग कमै हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।