काठमाडौं– सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैं, तिहार र छठ लगायतका पर्वलाई लक्षित गर्दै डाटा, भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको पर्व अफर (फेस्टिवल अफर) उपलब्ध गराउने भएको छ।
टेलिकमको फेस्टिवल अफर मंगलबार (असोज १९) देखि सुरु भइ कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ। तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन्।
डाटा प्याक अन्तर्गत २९४ मा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ। यस्तै, १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुनेछ।
भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ। यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ।
यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ। २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ।
ग्राहकले आफ्नो फोनमा *१४१५# डायल गरेर उल्लेखित प्याकहरु लिनसक्ने जनाइएको छ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत् पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।