काठमाडौं– नेपाली कांग्रेसको रामेछाप जिल्ला सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।
जिल्ला सभापतिमा निर्वाचित तामाङ संस्थापन पक्षका हुन्। तामाङ दोस्रो चरणको निर्वाचनपछि सभापतिमा निर्वाचित भएका हुन्। दोस्रो चरणमा पुगेका लव श्री न्यौपानेले निर्वाचनमा प्रतिस्पर्धा नगरेपछि तामाङ स्वतः जिल्ला सभापति बनेका हुन्।
ठेकेदारसमेत रहेका तामाङलाई केही महिनाअघि शेरबहादुर देउवाले आफ्नै निवासमा बोलाएर रामेछापको सभापतिमा उठ्न निर्देशन दिएका थिए। उनले गत संसदीय निर्वाचनमा उम्मेदवारको टिकटसमेत पाएका थिए।
शनिबार सम्पन्न निर्वाचनमा तामाङले ६६८, न्यौपानेले ३५६ र कृष्णबहादुर महतले ३२८ मत ल्याएका थिए। विजयी हुन कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्ने भएकाले शीर्ष दुईवीच आज मतदान हुने कार्यतालिका थियो।
संस्थापनइतरमा रहेका न्यौपानेले तामाङलाई स्वतः पद छोडिदिएका कारण निर्वाचन गरिएन। न्यौपाने १३औं महाधिवेशनपछि जिल्ला सभापति बनेका थिए।
यसअघि पूर्व रुकुम, हुम्ला, मुस्ताङ र संखुवासभामा नयाँ कार्यसमिति बनिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।