काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि कार्य गर्न रौतहटको गुजरा नगरपालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
मेगा बैंकले उर्वर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहट जिल्लाको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो।
बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत् धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रुपमा रहेको गुजरा, रौतहटका किसानहरुलाई व्यावसायिक भइ कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तर्क्रियासमेत गरेको छ।
कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ विभाग प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, वीरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ सेवा सुविधा, बचत, ऋण, रेमिट्यान्स, बचत गर्ने उपाय, बचत तथा ऋणको महत्त्वको बारेमा जानकारी दिएका थिए। नेपाल कृषिप्रधान देश भएता पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरुले जोड दिए।
उर्वर नेपालसँगको सम्झौतापश्चात् मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ। साथै, बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ।
किसान कार्डमार्फत् कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीउ, मल, कीटनाशक औषधिलगायतका सामानहरु तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरुबाट खरिद गर्न सक्ने छन्। किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो, जसले किसानहरुलाई बैंकिङ साना कर्जा कारोबार गर्न सहज र सरल भएको छ।
उक्त कार्यक्रममा उर्वर नेपालका अध्यक्ष सुदर्शन कार्की, उर्वर नेपाल रौतहटका जिल्ला संयोजक मनिष अधिकारी लगायतले उर्बर नेपालले किसानहरुको उत्पादन उर्वर बजारमार्फत् उपभोक्तासमक्ष पहुँच पुर्याउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।