काठमाडौं– काठमाडौं महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह पक्षबीच प्रतिस्पर्धा हुने भएको छ।
पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट निलकाजी शाक्यबीच महानगरको सभापतिमा प्रतिस्पर्धा हुने भएको हो। काठमाडौंमा असोज १६ गते (शनिबार) पालिका तहको अधिवेशन हुने गरी निर्वाचन समितिले समय तोकेको छ। प्रतिनिधि सभाका १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा महानगरपालिसँग ९ निर्वाचन क्षेत्र जोडिएका छन्।
विगतदेखि काठमाडौंमा तुलनात्मक रुपमा सिंहपक्ष बलियो रहँदै आएको छ। केन्द्रीय सदस्य तथा कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानको साथ लिएर देउवा पक्षले रञ्जितलाई उठाएको छ।
सिंह पक्षका शाक्यलाई नेता गगन थापाले समेत समर्थन दिएका छन्। ३२ वडा मध्ये अधिकांश वडा सभा सभापतिको समर्थन शाक्यलाई रहेको दाबी गरिएको छ।
२०३३ सालमा विपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर स्वदेश फर्केपछि शाक्य कांग्रेसमा आवद्ध भएका थिए। २०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह देखि २०४६ सालको जनआन्दोलनमा उनले सक्रिय सहभागिता जनाएका थिए। २०४३ सालमा पब्लिक युथ क्याम्पसको स्ववियु सभापति शाक्य बनेका थिए। उनी काठमाडौं महानगर वडा २५ का वडा सभापति समेत हुन्।
शाक्यका प्रतिस्पर्धी रञ्जित २०४४ सालमा नेविसंघमा आवद्ध भएका थिए। रञ्जित तरूण दल काठमाडौं महानगर समितिको संस्थापक सभापति हुन्।
२०५३ देखि महानगरको नयाँ कार्यसमितिका लागि कांग्रेसले निर्वाचन गराएको थिएन। २०५३ सालमा सुरेन्द्र मिश्र महानगरको सभापतिमा चयन हुँदा नरोत्तम वैद्यलाई पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।