काठमाडौं- सनराइज बैंकले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा जोन्ता क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।
'कोभिड-१९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु सञ्चालन गर्न पर्याप्त स्रोत, साधन र प्रविधिको अभाव रहेको छ। यसै कुरालाई मध्यनजर गदै सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाइ स्कूलअन्तर्गतको संस्कृत माध्यमिक विद्यालयलका शिक्षकहरुका लागि ल्यापटप खरिद गरी आवश्यक तालिम सञ्चालन गर्न दुई लाख रुपैयाँ सहयोग गरेको छ,' बैंकले मंगलबार विज्ञप्तिमार्फत् जानकारी दिएको छ।
बैंकले यसअघि पनि दरबार हाइ स्कूलअन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न सोही संस्थालाई तीन लाख रुपैयाँ सहयोग गरेको थियो।
मंगलबार दरबार हाइ स्कूल रानी पोखरीमा भएको एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले संस्कृत माध्यमिक विद्यालयलका प्रधानाध्यापक शिवराज अधिकारीको उपस्थितिमा क्लबका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरेका थिए।
परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै 'स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं' अभियान अगाडि बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य शिक्षामा पनि डिजिटल गर्ने उद्देश्यका साथ उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए। क्लबका अध्यक्ष गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिएर गरेको सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।