काठमाडौं– लुम्बिनी प्रदेश र प्रदेश २ मातहतका जिल्लाका प्रहरी कर्मचारीविरुद्ध व्यापक गुनासो आएपछि प्रहरी प्रधान कार्यालयले छड्के अनुगमन गरेको छ।
प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई र भीम ढकाललाई सुक्ष्मरुपमा अनुगमनमा खटाएको हो। राईले लुम्बिनी र ढकालले प्रदेश २ का प्रहरी कार्याहरुहरुको अनुगमन गरेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।
एक हप्ता लामो अनुगमन सकेर टोली आइतबार मात्रै काठमाडौं फर्किएको छ। काठमाडौं फर्किएको टोलीले अनुगमनमा देखिएका कमीकमजोरीसहितको प्रतिवेदन हेडक्वार्टरलाई बुझाउने स्रोतले जानकारी दियो। त्यसपछि सोही अनुसार कारबाही र सुधारको काम अघि बढाइने जनाइएको छ।
प्रदेश २ को रौतहटका एसपी सिद्धिबिक्रम शाह निर्दोष पत्रकारलाई लागूऔषध राखेर फसाएको घटनामा अनुसन्धानमा तानिएका छन्। प्रदेश २ कै विभिन्न जिल्लाहरुमा घुमुवा राखेर असुली गरेकोदेखि सीमा नाकाबाट कमाउ धन्दा सञ्चालन गरेको भन्दै प्रहरी हेडक्वार्टरमा उजुरी परेको थियो।
त्यसैगरी केही समयअघि मात्रै निषेधाज्ञाको समयमा समेत सेटिङमा क्यासिनो सञ्चालन गर्न दिएको भन्दै बाँकेका एसपी श्यामकृष्ण अधिकारी विवादमा आएका थिए। उनलाई प्रहरी प्रधान कार्यालयले सचेत समेत गराएको थियो। अन्य जिल्लाहरुका प्रहरी अधिकारीमाथि समेत व्यापाक गुनासो र उजुरी आएपछि अनुगमन टोली खटाइएको हेडक्वार्टरले जनाएको छ।
अनुगनका क्रममा संस्थागत कमिकमजोरी भन्दा पनि केही व्यक्तिगत लाभ र कमजोरीका कारण गुनासो आएको अनुगमन टोलीले जनाएको छ। उक्त अनुगमनको विस्तृत विवरण भने रिपोर्ट बुझाएपछि मात्रै आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।