काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूची सार्वजनिक हुन बाँकी १३ जिल्लामध्ये पाँचको प्रकाशित भएको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ डोल्पा, सुर्खेत, बाँके, महोत्तरी र सिराहाको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको हो।
योसँगै ६९ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भइसकेको छ। अब बाँकी ८ जिल्लाको सदस्यता यथाशक्य टुंग्याउने काम भइरहेको कांग्रेसले जनाएको छ।
अब प्रदेश दुईका ६ जिल्लासहित रसुवा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक हुन छ।
कांग्रेसमा ६४ जिल्लामा वडामा अधिवेशन सम्पन्न भइसकेको जनाइएको छ। शनिबारदेखि सुरु भएको पालिका अधिवेशनसमेत करिव ५४ जिल्लामा सम्पन्न भएको जनाइएको छ। शनिबार विविध कारणले अधिवेशन हुन नसकेका जिल्लामा आज अधिवेशन गर्ने कांग्रेसको तयारी छ।
वडाअधिवेशन हुन नसकेका १३ जिल्लामा दसैंअघि नै अधिवेशन प्रक्रिया सुरु गर्ने कांग्रेसले जनाएको छ।
हिमाली जिल्लामा महाधिवेशन कार्यतालिका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्ने र बाँकी जिल्लामा दसैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय कांग्रेसले गरिसकेको छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर ९–१३ सम्म काठमाडौंमा गर्ने निर्णय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।