काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे।
कांग्रेस काठमाडौं महानगरपालिका-१७ ले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको उल्लेख गर्दै १४औं महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी दिए।
उनले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’भएर काम गर्न चाहेको पनि पटक पटक दोहोर्याए। नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताए।
‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन है। मैले भने सबै नेताहरुलाई हामी सम्मान गर्छौं। त्याग, तपस्या, कुर्वानी उहाँहरुले डेमोक्रेसी ल्याउनका लागि गर्नु भएको छ। त्यसप्रति सम्मान छ। तर, अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ। यदि हामीले यो लथालिंग अवस्थामा १४औं महाधिवेशनमा पनि ठीक नेतृत्वको हातमा पार्टीलाई सुम्पन सकेनौं भने यो पार्टी प्रजापरिषद्को बाटोमा जान धेरै दिन लाग्दैन’, उनले भने।
नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उम्मेद्वारी दिने योजना बनाएको तर्क गरे। उनले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने दाबी गरे। नेता सिंहले पार्टी नेतृत्वले १४औं महाधिवेशनको मिति फेरि पनि सार्ने षडयन्त्र गरिरहेको भन्दै आक्रोश व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।