काठमाडौं– नबिल बैंकले धादिङको गल्छी गाउँपालिकामा वित्तिय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम गरेको छ। साथै, बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ।
गल्छी गाउँपालिकामा नबिल बैंकको तर्फबाट बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाको तर्फबाट अध्यक्ष कृष्णहरी श्रेष्ठले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
साझेदारीमार्फत् गाउँपालिकाहरुले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफरिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ।
कार्यक्रममा बोल्दै बैंकका बागमती प्रदेश प्रमुख श्रेष्ठले सम्झौताले गल्छी गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए।
त्यस्तै, गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरी श्रेष्ठले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे।
बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रका व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिल कर्जा प्रवाह गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।