काठमाडौं- मोबाइल एप हाम्रोपात्रोले रेमिट्यान्स सेवा सुरु गरेको छ। एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवासमेत थपिएको हो।
शुक्रबारदेखि सुरु भएको यो सेवामार्फत् तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्ने छन्। अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिए।
‘आज १२ बजेदेखि नै हाम्रोपात्रोको रेमिट्यान्स सेवा सञ्चालनमा आएको छ,’ उनले भने। हाम्रोपात्रोको आईओएस र एन्ड्रोइड दुवै एपमा नयाँ अपडेटसँगै यो सुविधा थपिएको हो। तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आगामी दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य मुलुकमासमेत विस्तार गरिने संस्थापक उप्रेतीले बताए।
‘हाम्रोपात्रो एपमार्फत् प्रयोगकर्ता आफैंले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो ओभरहेड (जनशक्तिमा लाग्ने खर्च) एकदमै कम हुन्छ,’ उनले भने, ‘जसले गर्दा न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिट्यान्स नेपाल पठाउन सम्भव भएको हो। कम्पनीले हाल बजारमा उपलब्ध रेमिट्यान्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ।
रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत सार्वजनिक गरेको छ। जसअनुरूप दसैं-तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रोपात्रोबाट सुरुआती तीन पटकसम्म निःशुल्क रुपमा रेमिट्यान्स नेपाल पठाउन सक्ने छन्।
तत्कालका लागि रेमिट्यान्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमा इन्स्टेन्ट (तुरुन्ताको तुरुन्तै) रकम ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुने जनाएको छ।
पात्रोको रुपमा सुरु भएको हाम्रोपात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमयदर हेर्न सकिने सुविधा दिँदै आएको छ। अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिट्यान्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ। जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोको विश्वास छ।
रेमिट्यान्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।