काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी महाधिवेशन सार्नेबारे कुनै छलफल नभएको बताएका छन्। सिंहदरबारमा आज सम्पन्न पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उक्त जानकारी दिएका हुन्।
कांग्रेस संसदीय कार्यालयमा भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले भोलि देशव्यापी हुने नगर अधिवेशनलाई सफल बनाउन तथा महाधिवेशनसम्बन्धमा रहेका विवादहरु टुंग्याउन सम्बन्धित समितिका संयोजकहरुलाई निर्देशन दिएको उनले बताए।
'अहिले कांग्रेसको १४औं महाधिवेशनका प्रक्रियाहरु अगाडि बढिरहेका छन्। निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, पार्टी सभापति, पदाधिकारी सबैका बीचमा छलफल, सल्लाह भइररहेको छ। महाधिवेशनको निर्धारित तालिकाबारे कुनै द्विविधा नराखी अधिवेशनको तयारीमा लाग्न आह्वान गर्छौं,' प्रवक्ता शर्माले भने।
क्रियाशील सदस्यता विवाद रहेका जिल्लाहरुको बारेमा चाँडै टुङ्गो लाग्ने र हिमाली जिल्लाहरु अधिवेशन केही पछि सार्नेबारे छलफल चलिरहेको उनले बताए।
यसअघि मंसिर ९ देखि १३ गतेका लागि निर्धारित केन्द्रीय महाधिवेशन दुई महिना पछि सार्नेबारे छलफल भइरहेको सभापति शेरबहादुर देउवानिकट नेता मीन विश्वकर्माले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।