काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा संस्थापनइतरका नेता कार्यकर्ताले पार्टी कार्यालयमा रिले अनशन सुरु गरेका छन्।
क्रियाशील सदस्यता विवाद थाँती रहँदारहँदै जबरजस्ती वडा अधिवेशन गरिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष विरोधमा उत्रिएको हो। जिल्लाबाट पठाइएका नाम हटाएर केन्द्रबाट नाम थपघट गरेको भन्दै कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले वडा अधिवेशन रोक्न माग गरेका थिए। डडेलधुरामा भदौ २५ मा वडा अधिवेशन भएको थियो।
राज्य शक्तिको दुरुपयोग गरिएको भन्दै संस्थापनइतर पक्षले वडा अधिवेशनलाई अमान्य घोषणा गरेको थियो। वडा अधिवेशन बदरको माग गर्दै मल्ल निकट नेता कार्यकर्ताले बिहीबारदेखि रिले अनशन सुरु गरेका छन्।
‘हराइएका क्रियाशील सदस्यता कायम गर, अवैधानिक ढंगले वितरण गरिएका क्रियाशील सदस्यता खारेज गर, कथित अवैधानिक वडा अधिवेशन बदर गर, वैधानिक वडा अधिवेशनको मिति तय गर’, लगायतका माग राख्दै रिले अनशन सुरु गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।