काठमाडौं– प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश रन्जितकारको नाम लिएर रकम अुसली गरेको आरोपमा १ महिला पक्राउ परेकी छन्।
डीआईजी रन्जितकारको नाम लिँदै रकम असुल्ने गरेको आरोप लागेकी सर्लाहीकी सुशीला थापा दाहाललाई प्रहरीले पक्राउ गरेको हो।
प्रदेश २ प्रहरीका अनुसार उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय गरुडा रौतहटमा राखेर अनुसन्धान अघि बढाइएको छ। गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै दाहालले डीआईजी रन्जितकारको नाम लिँदै रकम बार्गेनिङ गरेको भिडियो सार्वजनिक भएको थियो।
त्यसपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको रौतटहका एसपी विनोद घिमिरेले बताए।
यता डीआईजी रञ्जितकारले भने ती महिलाले आफ्नो नाम दुरुपयोग गरेको र उक्त घुस बार्गेनिङमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।
प्रदेश २ प्रहरी कार्यालयबाट जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘एकजना महिलाले डीआईजीको नाम जोडेर निहित स्वार्थ राखी व्यक्तिगत आर्थिक लाभ गर्ने उद्देश्यका लागि काम गर्न खोजेको देखियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।