काठमाडौं- बालाजुस्थित औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट उत्पादन गर्ने कारखाना पुनः सञ्चालनमा आएको छ।
गत साउन २३ गते आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार (आज)बाट पुनः सञ्चालनमा आएको हो। बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो।
कारखाना सञ्चालनमा आए पनि पूर्णरुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाइ छ। कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताए। उनले आगलागीका कारण मेसिन पूर्णरुपमा ध्वस्त भएका कारण पहिलेको क्षमताभन्दा कम उत्पादन हुने बताए।
यसअघि औसतमा दैनिक २० देखि २२ टन बिस्कुट उत्पादन हुने गरेको उनले बताए। यस्तै, उनले आगलागीबाट अनुमानित २२ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए। जसमध्ये १२ करोड रुपैयाँ अनुमानित कच्चा पदार्थमा र बाँकी मेसिन र घरमा क्षति पुगेको उनले बताए। मेसिन र घरको क्षतिको पूर्णविवरण अझै नआएको कम्पनीले जनाएको छ।
नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी नेविकोले करिब ५८ वर्षदेखि आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।