काठमाडौं– संघीय संसद्को संयुक्त नियमावली पारित गर्न बस्न लागेको संयुक्त बैठक सूचना टाँसेर स्थगित भएको छ। नियमावलीमा समस्या आउँदा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि संसद् बैठक स्थगित भएको संघीय संसद सचिवालयले जनाएको छ।
नियमावली पारित गर्नका लागि आज १ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने कार्यसूची आइतबार नै तय भएको थियो। अर्को बैठक असार ३ गते बस्ने भएको छ। आजको बैठक बस्न नसकेपछि संसद् सचिवालयले असार ३ का लागि बैठक आह्वान गरेको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभाबाट संसद्को नियमावली बहुमतले पारित भइसकेको छ। फौजदारी अभियोग लागेका सांसद थुनामा रहे पनि निलम्वन नहुने व्यवस्थासहित नियमावली पारित भएकोमा विरोध भइरहेको छ।
संयुक्त बैठकबाट विधेयक पारित भएपछि साझा समिति गठनका लागि बाटो खुल्ने थियो। संसदीय सुनुवाइ र अनुगमन तथा मूल्यांकन विशेष समिति साझा समितिका रुपमा छन्। त्यस्तै, महाअभियोग समिति दुवै सदनमा हुने समिति हो। संघीय संसदमा कुल १६ वटा समिति छन्। संसदीय समिति नहुदाँ संवैधानिक निकायमा सिफारिस हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।