काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले जोन्ता क्लब काठमाडौं नेपाललाई चार लाख ९७ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले उक्त रकम मंगलबार क्लबलाई हस्तान्तरण गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई सहयो रकम हस्तान्तरण गरेका थिए।
बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामुलक भिडियोहरुको विकास गर्न प्रयोग गर्ने जनाएको छ। साथै, विभिन्न सामाजिक सञ्जालमा उक्त भिडियोको प्रवर्द्धन गरी हिंसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य रहेको जोन्ता क्लबको भनाइ छ।
समाजमा भइरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हक अधिकारका लागि कार्यहरु गर्दै आइरहेको उक्त संस्थालाई उपलब्ध गराइएको सहयोगले महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।