बंगलादेशबाट रोहिङ्ग्या शरणार्थीलाई नेपाल पुर्याउने गरेको आरोपमा पक्राउ परेका ३ जना
काठमाडौं– रोहिङ्ग्या शरणार्थीलाई अमेरिका पठाउने प्रलोभनमान नेपाल ल्याएको पाइएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानका क्रममा बंगलादेशमा रहेका रोहिङ्ग्या शरणार्थीलाई अमेरिका पठाउने प्रलोभन देखाएर नेपाल ल्याउने गरिएको खुलेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार २ जना म्यान्मारी नागरिक र १ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेका म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन तथा २७ वर्षीय शफिक आलम र बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्लालाई अनुसन्धानका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो पठाइएको थियो।
मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानका क्रममा रोहिङ्ग्या शरणार्थीहरुला अमेरिकाको सपना देखाएर नेपाल ल्याएको खुलेको हो।
अनुसन्धानका क्रममा बंगलादेशमा शरण लिएका ६ जना रोहिङ्ग्या नेपाल पुगेपछि पुरुषलाई ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० नेपाली रुपैयाँ बराबरको मासिक भत्ता समेत उपलब्ध गराउने प्रलोभन दिइएको पाइएको छ। त्यसैगरी सन् २०२२ मा युनाइटेड नेसन हाइ कमिसनर फर रिफ्युजी (युएनएचसिआर) ले अमेरिका जाने परिचयपत्र समेत दिने प्रलोभन देखाई नूरुल अमिनले २ लाख ५० हजार बंगलादेशी मुद्रा लिएको खुलेको छ।
उनीहरुले बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुगेपछि अमेरिका जान पाइने र नेपालमा बस्दा मासिक भत्ता समेत पाइने भनेर प्रलोभनमा पार्ने गरेका थिए।
काठमाडौंको कपनसहितका ठाउँमा रहेका रोहिङ्ग्या शरणार्थीका शिविरमा नयाँ व्यक्तिहरु आउन थालेको सूचनापछि अनुसन्धान थालेको सीआईबीले शरणार्थीको नाममा मानव तस्करी हुने गरेको तथ्य फेला पारेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।