फाइल तस्वीर
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व नजिकिएसँगै उपत्यकामा विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। दसैं, तिहार तथा छठलगायत पर्वलाई लक्षित गरेर महाशाखाले सोमबार योजना सार्वजनिक गरेको हो।
योजनामा ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्थालगायत समेटिएको छ।
चाडपर्वमा हुने सवारी चाप व्यवस्थापन, दुर्घटना न्युनिकरण तथा यात्रुलाई पर्न सक्ने विभिन्न समस्यालाई सम्बोधन गरी सहज यात्राको प्रबन्ध मिलाउन सुरक्षा योजना लागु गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए।
यसैगरी योजनाको प्रभावकारी व्यवस्थापन गर्न थप जनशक्ती परिचालन, चेकजाँचमा कडाइ र नागरिक सहायता कक्षा स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको एसएसपी भट्टराईले बताए। बसपार्क, टिकट काउण्टर, अन्य भीडभाड हुने स्थल तथा यात्राको क्रममा कोरोना संक्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डको पालना भए नभएको चेकजाँच एव अनुगमन गर्ने, पुर्ण पालना गर्न लगाउने र सचेतनासमेत जगाउने उनको भनाइ छ।
ट्राफिक प्रहरीले विभिन्न ४३ ठाउँमा २४सैं घण्टा चेकजाँच सुरु गरेको छ। थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, साँखु, बालाजुबाइपास, मुड्खु, टोखा लगायतबाट उपत्यका बाहिरिने सबै प्रकारका सवारी साधनहरुलाई नाकामा कडाइका साथ चेकजाँच गर्ने महाशाखाको योजना रहेको छ।
त्यसैगरी, उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन हुने भएको छ। नागढुङ्गा, कलंकी, स्वयम्भु, माछापोखरी, नयाँबसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जागती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष रहनेछन्। आम सर्वसाधारण तथा यात्रुलाई पाकेटमार तथा अन्य आपराधिक गतिबिधि तथा सुरक्षासम्बन्धी सूसुचित गर्न, स्वास्थ्य प्रोटोकलको पालना गर्न, टिकट तथा भाडा ठगीलगायतका यात्रुहरुको गुनासो व्यवस्थापन गर्न, सहज यात्राको व्यवस्था समेत यात्रु सहायता कक्षले गर्ने महाशाखाले जनाएको छ।
साथै, योजनाअन्तर्गत नियमित ट्राफिक व्यवस्थापनमा मात्र नभई चाडपर्वको समयमा हुन सक्ने सवारी चाप, यात्रुसँग बढी भाडा लिई हुने ठगी, यात्रुसँग हुने अमर्यादित व्यवहार, गन्तव्य नपुगी गाडीबाट ओरालदिने, स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता समस्या आउन नदिन ट्राफिक प्रहरी सजक र सक्रिय रहने एसएपी भट्टराईले बताउनुभयो । अन्य समयको तुलनामा चाडपर्वको समयमा बिशेषगरि गंगबु नयाँ बसपार्क क्षेत्र, कलंकी, बल्खु, सातदोबाटो, कोटेश्वर, पुरानो बसपार्क, गौशाला, जडिबुटीलगायतका भीडभाड हुने स्थान र टिकट काउन्टरहरुमा हुन सक्ने भाडा ठगी नियन्त्रण गर्न, फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्तिमाथि निगरानी गर्न, त्यस्तै टिकट मूल्यअनुसार लिएको छ÷छैन चेकजाँच गर्न र पकेटमार तथा अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत ट्राफिक प्रहरी परिचालन गर्ने महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।