काठमाडौं– आन्तरिक उडानमार्फत काठमाडौंबाट विराटनगर जान लागेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 'सुन'का बालासहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पाँचथरको मेक्लाजुङ गाउँपालिका–४ घर भएका ३८ वर्षीय टेकबहादुर सारु मगर छन्। सौर्य एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका उनी विमानस्थलमा चेकजाँचका क्रममा सुनसहित पक्राउ परेका हुन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा उनले बोकेको झोलामा संकास्पद बस्तु रहेको संकेत मिलेपछि प्रहरीले झोला खोलेर तलासी गरेको थियो।
तलासीका क्रममा उनले बोकेको झोलाबाट सुनका २ थान बाला (१०० ग्राम बराबर)का फेला परेका नेपाल प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
पक्राउ परेका सारु मगरमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।