काठमाडौं– रोहिङ्ग्या शरणार्थीलाई प्रलोभनमा पारी बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २ जना म्यान्मारी नागरिक र १ जना बंगलादेशी नागरिक छन्। बंगलादेशमा शरण लिएर बसेका रोहिङ्ग्या जातिका व्यक्तिलाई नेपालको बाटो भएर युरोप र अमेरिका पुर्याइदिन्छु भनेर प्रलोभनमा पारी नेपाल पुर्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा म्यान्मार घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ बस्ने २७ वर्षीय नूरुल अमिन तथा २७ वर्षीय शफिक आलम र बंगलादेश घर भइ काठमाडौंको डल्लु बस्ने ३० वर्षीय अजमत उल्ला छन्।
सीआईबीले गरेको अनुसन्धानअनुसार उनीहरुले बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुगेपछि अमेरिका जान पाइने र नेपालमा बस्दा मासिक भत्ता समेत पाइने भनेर प्रलोभनमा पार्ने गरेका थिए।
उनीहरुले पुरुषलाई प्रतिमहिना ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पाइने तथा अन्य सुविधाहरु पनि राम्रो रहेको भन्दै भारतको बाटो हुँदै बंगलादेशमा रहेका रोहिङ्ग्यालाई नेपाल पुर्याउने गरेका थिए।
त्यसबापत उनीहरुले १ जना व्यक्तिबाट २ लाख ५० हजार टाका (बंगलादेशी मुद्रा) लिने गरेका थिए।
काठमाडौंको कपनसहितका ठाउँमा रहेका रोहिङ्ग्या शरणार्थीका शिविरमा नयाँ व्यक्तिहरु आउन थालेको सूचनापछि अनुसन्धान थालेको सीआईबीले शरणार्थीको नाममा मानव तस्करी हुने गरेको तथ्य फेला पारेको हो।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको सीआईबीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।