राजविराज– सप्तरीको रुपनी गाउँपालिका २ स्थित जेसिज आधारभूत विद्यालयमा तालाबन्दी गरिएको छ।
घुस खाएर कमजोर उम्मेदवारलाई शिक्षक नियुक्तिको तयारी गरिएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य तथा स्थानीय अभिभावकले विद्यालयको कार्यालयमा तालाबन्दी गरेका हुन्।तालाबन्दीसहित विद्यालयमा उत्पन्न समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा आइतबार उनीहरुले उजुरीसमेत दर्ता गराएका छन्।
विद्यालयमा प्राथमिक शिक्षक तृतीय तह (राहत) को दरबन्दी पदपूर्तिका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण यादव र प्रधानाध्यापक सूर्यनारायण मण्डलले ६ लाख रकम लिएर स्थानाकोत्तर गरेका उम्मेदवारलाई हटाई कमजोर व्यक्तिलाई नियुक्तिको तयारी गरेको उजुरीमा उल्लेख छ।
विद्यालय निरिक्षकलाई नराखी गैरकानुनी रुपमा शिक्षक छनोट समितिमा गठन गरिएको भन्दै निष्पक्ष परीक्षा सञ्चालन र योग्य व्यक्तिलाई नियुक्ति गर्न उजुरीमा माग गरिएको छ।
सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले शिक्षा विकास तथा समन्वय इकाइमा उजुरी पठाई वास्तविक्ता बुझेर राय पेश गर्न निर्देशन दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।