काठमाडौं– ‘दाइ, के म यो संस्थामा जोडिन सक्छु? मलाई अनुसन्धान र जासुसीमा धेरै रुचि छ।’
निर्देशक मनोज पण्डितलाई निकेशकुमार लम्सालले फेसबुकमा पठाएको मेसेज हो, यो। उनले आफ्नो नयाँ फिल्म ‘एक’भित्र निर्माण गरिएको जासुसी संस्था ‘सेन्टर फर सेक्युरिटी’ (सीएसआई)’ मा काम गर्ने इच्छा देखाउँदै पण्डितलाई मेसेज गरेका थिए।
पण्डितले जासुसी फिल्म बनाएका भने होइनन्। जासुसी पक्षसमेत जोडेर राजनीतिक विषयवस्तुमाथि फिल्म बनाएका हुन्। मधेश केन्द्रित मुद्दामा निर्माण भएको फिल्ममा आफूले स्थापित भाष्यभन्दा फरक ढंगले प्रस्तुत गर्ने जमर्को गरेको उनी बताउँछन्।
‘फिल्म मनोरञ्जन मात्रै होइन, यसले कुनै न कुनै रुपमा समाजका मुद्दाहरुलाई उठाएको हुनुपर्छ,’ निर्देशक पण्डितसँग बेलाबखत भेट हुँदा यसो भनिरहन्छन्।
पण्डितले फरक प्रकारका फिल्म बनाउने निर्देशकको पहिचान बनाएका छन्। चाहे ‘ग्रेटर नेपाल’ होस् वा ‘दासढुंगा’, वा 'वधशाला' उनले चल्तीको बाटो हिँडेर फिल्म बनाएका छैनन्।
विश्वमा स्थापितभन्दा फरक धारका फिल्म बनाएर प्रभाव देखाउने निर्देशक धेरै छन्। अमेरिकी निर्देशक फ्रान्सिस् फर्ड कपोल्लाको फिल्म ‘एपोक्यालिप्सी नाउ’ होस् वा डेनिस होप्परको फिल्म ‘इजी राइडर’, तिनलाई दर्शकले सम्झिरहने छन्। भारतमै पनि एस शंकर निर्देशित बलिउड फिल्म ‘नायक’, मलयालम भाषाको लिजी जे पुल्लपल्ली निर्देशित ‘सन्चरम’ लगायत धेरै फिल्म बनेका छन्, जसले स्थापित भाष्यलाई खण्डन गर्दैै दर्शकलाई नयाँ दृष्टिकोणबाट हेर्न सिकाउँछन्।
पण्डित पनि त्यस्तै प्रयोग गर्न खोज्छन् जसले उनलाई विवादमा तान्ने गरेको किन नहोस्। नयाँ फिल्म ‘एक’मा पनि आफूले फरक ढंगले काम गरेको उनी बताउँछन्। ‘म फरक गर्छु वा अरुभन्दा फरक देखिन काम गर्छु भन्ने लाग्दैन,’ पण्डित भन्छन्, ‘तर, काम गरिरहँदा त्यो आफैं फरक हुन जान्छ। मेरो फिल्म खिच्ने शैलीदेखि मैले भन्ने कथाहरु भिडभित्रैका हुन्।’
चार वर्षअघि सुरु भएको फिल्मको छायांकन कोभिडको पहिलो लहर सुरु हुनुअघि सकिएको थियो। तर, कोभिडका कारण 'पोस्ट प्रोडक्सन'को काममा ढिलाइ भयो।
यो फिल्म मधेशको मुद्दामा आधारित छ। नेपालको दक्षिणी भूभागमा भएको राजनीतिक चलखेल र यसमाथि लाग्ने गरेका आक्षेपहरुलाई पण्डितले दृश्यमार्फत खण्डन गर्न खोजेका छन्। आफ्नो फिल्ममा भविष्यमा हुनसक्ने त्रासदीलाई प्रस्तुत गरेको उनी बताउँछन्। ‘भविष्यमा हुनसक्ने द्वन्द्वलाई लिएर फिल्म निर्माण भएको छ, फिल्मले त्यो भविष्यसँग लड्ने जमर्को गरेको छ,’ उनी भन्छन्।
अरुलाई जस्तै उनलाई पनि लागेको छ– देश कठिन स्थितिमा छ र विदेशी शक्तिले खेल मैदान बनाएका छन्। फिल्मको निचोड चाहिँ अब त्यस्तो बन्न दिनुहुन्न भन्ने नै छ। ‘म अहिले अफगानिस्तानमा आफ्नो काल्पनिक विषयको सार्थकता भेटिरहेको छु,’ पण्डित भन्छन्, ‘अफगानिस्तान विदेशी हस्तक्षेपले कहाँ पुग्यो? नेपाल पनि अरु देशको हस्तक्षेपले भोलि त्यस्तै अवस्थामा पुग्न सक्छ। मैले आफूले देखिरहेको डरलाई पर्दामा देखाउने प्रयास गरेको छु।’
मधेश भन्ने वित्तिकै मानिसको दिमागमा आउने ‘विघटनको चित्र’ कसरी सिर्जना भयो भन्नेमा आफू आश्चर्यमा परेको उनी बताउँछन्। फिल्म निर्माणको क्रममा पनि मधेशलाई बुझ्ने गलत दृष्टिकोणहरुको उनले सामना गरे। ‘मधेश भूभाग छुट्टै थियो भन्ने जुन अवधारणा छ, यो पूर्णरुपमा आयातीत अवधारणा हो,’ पण्डित भन्छन्, ‘तराई कसरी मधेश भयो? तराई भन्ने परिभाषालाई फेरेर कसरी मधेश भन्ने भाष्य निर्माण भयो? यसमाथि प्रश्न गर्न आवश्यक छ,’ उनी भन्छन्।
विगतका उनकै फिल्मभन्दा भिन्न रहेको ‘एक’मा पण्डितले द्वन्द्व पनि समावेश गरेका छन्। तर, भौतिक द्वन्द्व मात्र नभएर मनोवैज्ञानिक द्वन्द्व प्रस्तुत गरेको उनको भनाइ छ। ‘मैले आफ्ना दर्शकको दायरालाई फराकिलो बनाउने प्रयासस्वरुप विपक्षी बलियो हुँदा आवश्यक परेको ठाउँमा एक किसिमको एक्सन देखाएको हुँ,’ पण्डित भन्छन्।
तर, नेपाली फिल्ममा देखाइने द्वन्द्वका दृश्यहरु वास्तविक लाग्दैनन्। पण्डित आफ्नो फिल्ममा भने द्वन्द्वलाई मनोरञ्जनको औजारका रुपमा मात्र प्रयोग नगरेको बताउँछन्। उनी भन्छन्, ‘फिल्ममा एकदम काँचो किसिमले द्वन्द्व प्रस्तुत भएको छ। एउटा मानिसले जीवनमा गर्न सक्नेभन्दा बाहिर गएर द्वन्द्वलाई देखाइएको छैन।’ आफूले बनाएका विगतका फिल्मबाट सिकेको पाठलाई ‘एक’मा प्रयोग गरेको उनको भनाइ छ।
तर, अब विगतका नेपाली फिल्मसँग मात्रै तुलना गरेर नयाँ फिल्म टिक्नेवाला छैनन्। नेपाली दर्शकको विदेशी सिनेमामा पहुँच बढेको छ। गुणस्तरीय उपकरणहरुबाट खिचिने ती फिल्मले दृश्यलाई हेर्ने दृष्टिकोण पनि बदलिदिन्छन्। कथा नवीन नभए पनि दृश्यांकनले दर्शक तान्छ। दर्शकका लागि छनोट पनि धेरै छन्। आफ्नो स्वादअनुसार फिल्म हेर्छन्।
‘फिल्म बनाउनेले आफूले पर्दामा कस्तो सिनेमा हेर्न चाहन्छ र दर्शकलाई कस्तो सिनेमा देखाउन चाहन्छ भन्ने हुन्छ,’ पण्डित भन्छन्, ‘फिल्ममेकरले आफूलाई सब्जेक्टको रुपमा मान्यो भने पर्दामा आफूले देख्न चाहेको सिनेमा बनाउँछ। आफूलाई अब्जेक्टको रुपमा मानेमा अरुले देख्न चाहेको फिल्म बनाउँछ। म सब्जेक्टिभ फिल्म मेकर हो।’
मनोजले ‘एक’को छायांकन तराईका जिल्लामा मात्र भने गरेका छैनन्। फिल्ममा तराईदेखि डोल्पासम्मका दृश्य समावेश छन्। ती दृश्यले एकताको सन्देश दिने उनी बताउँछन्। यी सबै ठाउँमा उनले स्थानीयलाई पनि फिल्ममा सामेल गराउने प्रयास गरेका छन्।
मनोजले ‘एक’को छायांकन तराईका जिल्लामा मात्र गरेका छैनन्। फिल्ममा तराईदेखि डोल्पासम्मका दृश्य समावेश छन्। ती दृश्यले एकताको सन्देश दिने उनी बताउँछन्। यी सबै ठाउँमा उनले स्थानीयलाई पनि फिल्ममा सामेल गराउने प्रयास गरेका छन्। मुख्य पात्र बाहेकका कलाकारहरुको रुपमा पण्डितले स्थानीयसँग काम गरे।
‘सबैभन्दा कठिन कुरा बाहिरबाट गएका मानिसले स्थानीयलाई लिएर फिल्म बनाउनु हो,’ पण्डित भन्छन्, ‘उनीहरुको लागि हामी स्वीकार्य नबन्दासम्म काम गर्न सकिदैन। फिल्मको छायांकन गर्दा हामीलाई जोखिमसँगै अवसर पनि थियो। स्थानीय कलाकारसँग काम गर्दा उनीहरुलाई हामीले प्रयोग गरेको हो भन्ने सन्देश जान्छ भन्ने डर पनि थियो।’
यस्तै एउटा घटना छायांकनकै क्रममा भयो। अभिनेता प्रमोद अग्रहरी ‘स्वतन्त्र मधेश’को मुद्दा बोकेर हिँडेको पात्रको भूमिकामा छन्। सिनेमाको एक दृश्यमा अग्रहरी तथा मधेश नेपालकै भूमि हो र अब पनि त्यही हुनुपर्छ भन्ने विचार बोक्ने पात्रबीचको द्वन्द्व देखाइएको छ। त्यसका लागि ‘मधेश नेपाल नै हो’ भन्ने विचार बोक्ने कलाकार खोज्दै थिए, पण्डित। एक जना भेटिए, तर खोजेभन्दा ठीक विपरीत। ‘उनको विचार सिके राउतसँग मिल्ने जस्तै रहेछ,’ पण्डित भन्छन्, ‘स्वतन्त्र मधेशकै मुद्दा बोकेका रहेछन्। उनीसँग अभिनय गराउने कुरामा बहस भयो। तर, पात्रको रुपमा देखिने कलाकारको विचार ठीक विपरीत भएपछि खेलाउने कुरा पनि भएन। उनको विकल्प खोजेँ।’
स्थानीय पात्रसँग काम गर्न अर्को पनि समस्या थियो। ‘काठमाडौंले मधेशलाई प्रयोग गरिरहन्छ’ भन्ने गुनासाे प्राय: सुनिन्छ।आफ्नो कामले पनि स्थानीयमाझमा यस्तै सन्देश पुर्याउला भन्नेमा उनी सचेत थिए। मधेशमा बढी मात्रामा चल्ने हिन्दी, भोजपुरीभन्दा फरक नेपाली भाषाको फिल्म बनाउँदै थिए, उनी। त्यसकारण पनि जोखिम थियो।
यो फिल्म असोज २१ मा ओटीटी (ओभर द टप) माध्यमहरुमार्फत प्रदर्शन हुँदै छ। कोभिड कहरपछि बल्ल खुलेका सिनेमा हलमा दर्शक नआउने त्रासले धेरै निर्देशकले फिल्म प्रर्दशन गर्न हिचकिचाइरहेको बेला पण्डित भने नेपालमा स्थापित हुनै बाँकी ओटीटीमार्फत आफ्नो फिल्म प्रदर्शन गर्दैछन्। ‘अबको समय भनेको डिजिटल माध्यमकै हो,’ पण्डित आफ्नो फिल्म ओटिटीमा प्रदर्शन गर्नुको कारण खुलाउँछन्, ‘कोही न कोहीले त गर्नैपर्थ्यो। त्यो रिस्क मैले लिइरहेको छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।