काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता टुंग्याउनका लागि गठित कार्यदलले प्रदेश २ का केही जिल्ला र कैलालीका सन्दर्भमा नयाँ निर्णय लिए पनि १३ जिल्लाको नामावली टुंग्याउन सकेको छैन।
कार्यदलले महाधिवेशनको सन्दर्भमा वडादेखि हुने अधिवेशन कार्यतालिका नसर्नेगरी कार्यसम्पादन गराउन आवश्यक रहेको सुझाव शीर्ष तहलाई दिएको छ।
कार्यदलका सदस्यत्रय कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई शनिबारसम्म १३ जिल्लाको क्रियाशील सदस्यताको नाम टुंग्याउन जिम्मेवारी दिइएको हो। नयाँ कार्यतालिका अनुसार असोज ५ (मंगलबार)का लागि बाँकी जिल्लाको वडा अधिवेशन गर्ने कार्यतालिका बनाइएको थियो। उक्त कार्यतालिका कार्यान्वयन नहुने भएको छ।
सोमबारसम्म क्रियाशील सदस्यको नामावली प्रकाशित नभएका कारणले मंगलबार वडा अधिवेशन हुने सम्भावना टरेको निर्वाचन समितिले जनाएको छ।
नामावली प्रकाशित पश्चात् वडा अधिवेशनको तयारीका लागि कम्तिमा पाँच दिन लाग्ने समितिले जनाएको छ। क्रियाशील सदस्यता टुंगिन बाँकी रहेका जिल्लामा असोज ९ सम्म वडा अधिवेशन गर्ने गरी नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ।
गाउँ/नगर पालिकाको अधिवेशन असोज ९ मा तोकिएकाले त्यसअघि वडा अधिवेशन सक्नैपर्ने अवस्था छ। भदौ ३० मा सूची प्रकाशित भएका सात जिल्लामा भने मंगलबार वडा अधिवेशन हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।