काठमाडौं– नेपाल प्रहरीको दरबन्दी ७५ हजार नाघेको छ। आइतबार सरकारले नेपाल प्रहरीमा ३ हजार १ सय १ दरबन्दी बढाउने निणयसँगै नेपाल प्रहरीको जनशक्ति ७५ हजार ८ सय ३४ पुगेको हो।
गृह मन्त्रालयको प्रस्तावअनुसार सरकारले नेपाल प्रहरीको दरबन्दी थपेको हो। स्थानीय तहहरुमा प्रहरीका नयाँ कार्यालय स्थापनका लागि यो दरबन्दी थपिएको हो।
यसअघि प्रहरीको जनशक्ति ७२ हजार ७ सय ३३ थियो।
प्रहरीमा अब एक एआइजीको संख्या प्राविधिकसहित ४ मात्र रहने छ। आइतबारकै मन्त्रिपरिषद्को बैठकले एआइजीको दरबन्दी टुंगो लगाएको हो। मुख्यालयका दुई विभाग तथा प्रहरी एकेडेमीमा मात्र एआइजी राख्न लागिएको हो। प्रहरीमा एआइजीको दरबन्दी धेरै राखिएको विगतमा आलोचना हुँदै आएको थियो। धेरै एआईजी हुँदा राज्यलाई भार त बढेकै थियो, साथै प्रहरीको चेन अफ कमाण्ड समेत कमजोर हुन पुगेको थियो।
नेपाल प्रहरीमा डिआईजीको संख्या ३४ नै कायम भएको छ भने एसएसपीको ७७ पुगेको छ। त्यस्तै एसपीको एक सय ७१, ४ सय ३९ तथा इन्सपेक्टरको एक हजार ४ सय ४ पुगेको छ।
नेपाल प्रहरीले २० हजार थप दरबन्दी मागेको थियो। तर, बजेटको अभावमा कारण तत्कालका लागि स्थानीय तहका लागि मात्र दरबन्दी थपिएको हो। अब प्रहरी संघीय संरचनामा गएपछि प्रदेशहरुमै दरबन्दी थप र भर्ना हुने छ।
तीन पदमा १० को प्रतिस्पर्धा
नेपाल प्रहरीमा एआईजीको दरबन्दी टुंगो लागेसँगै बढुवाका लागि पनि गृहकार्य सुरु भएको छ। प्रशासनतर्फ एआईजीका सबै दरबन्दी रिक्त छन्। तीन पदका लागि १० जना डिआईजीहरु बढुवाको प्रतिस्पर्धामा छन्।
बढुवाका प्रमुख आकांक्षीहरुमा पुष्कर कार्की, उत्तम कार्की, ठूले राई, मनोज नेउपाने, छविलाल जोशी, सुरेशबिक्रम शाह, धिरु बस्नेत, पवन खरेल, ज्ञानबिक्रम शाह, शरद चन्द बढुवाको प्रतिस्पर्धामा छन्।
उनीहरुमध्ये उत्तक कार्की, छविलाल जोशी, पवन खरेल र शरद चन्दले आगामी असार ३० गतेदेखि अवकाश पाउँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।