काठमाडौं– दक्षिण कोरियामा कामदार पठाउन शनिबार र आइतबार सञ्चालन भएको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ७५ जान परीक्षार्थी सहभागी भएका छन्।
परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गरिने वैदेशिक रोजगार इपिएस काठमाडौं शाखाले जनाएको छ।
कोरियन भाषाका लागि गत चैतमा आवेदन दिएका ८२ हजार २ सय ६४ जनामध्ये परीक्षामा सात हजार ३ सय ८ जना अनुपस्थित भएका शाखाले जानकारी दिएको छ। शाखाका अनुसार, विभिन्न परीक्षाकेन्द्रबाट गरी २ सय ४७ जना नक्कली परीक्षार्थी पक्राउ गरिएको छ। पक्राउ परेका परीक्षार्थीलाई प्रहरीले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउनेगरी थुनामा राखेको छ।
अरुको नाममा परीक्षा दिन आएका ती व्यक्तिले इपिएस नियम अनुसार आगामी तीन वर्षसम्म कोरियामा रोजगारीका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउने छैनन्।
परीक्षा सञ्चालनका लागि कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आएको थियो। परीक्षाका लागि काठमाडौंमा १६, ललितपुरमा ८ र पोखरामा ४ वटा परीक्षाकेन्द्र तोकिएको थियो। परीक्षाको जिम्मा मात्र इपिएस कोरिया शाखाले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ।
गत वर्ष कोरियन भाषा परीक्षामा ८ हजार परीक्षार्थी सहभागी भएका थिए। गत वर्षको तुलनामा यो वर्ष दस हजार बढी परीक्षार्थी सहभागी भएको शाखाले जनाएको छ।
कोरिया सरकारले नेपालका लागि उत्पादन र कृषिमा सन् २०१८ मा सात हजार २ सय कोटा छुट्याएको छ। कोरियाले इपिएसमार्फत सन् २००८ बाट नेपालबाट कामदार लिन सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।