काठमाडौं– नेपाली कांग्रेसमा क्रियाशील सदस्यता सूची प्रकाशित हुन बाँकी रहेका १३ जिल्लाको नामावली शनिबार प्रकाशित गर्ने सहमति भएको छ।
कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा भएको छलफलमा उक्त सहमति जुटेको हो। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइरालाले क्रियाशील सदस्यता टुंग्याउन बनेको कार्यदल सदस्यसँग छलफल गरेका थिए।
कार्यदल सदस्य कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई शनिबारसम्म बाँकी जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन जिम्मेवारी दिइएको छ। बैठकमा सहभागी एक नेताका अनुसार शनिबारसम्म टुंग्याउन निर्देशन दिइए पनि १/२ दिन अझै समयावधि बढ्न सक्छ।
क्रियाशील सदस्यता टुंगिन प्रदेश २ का ८ जिल्ला सहित कैलाली, सुर्खेत डोल्पा, रसुवा र बाँकेको सूची प्रकाशन हुन बाँकी छ।
क्रियाशील सदस्यता टुंगिएका ५७ जिल्लामा वडा अधिवेशन भएको छ। बाँकी जिल्लाको लागि असोज ५ मा वडा अधिवेशन हुने गरी कार्यतालिका बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।