काठमाडौं– राजनीतिक दबाबका आधारमा विगतमा विवादास्पद व्यक्तिहरुलाई दिइएको हतियार प्रहरीले बरामद गरेको छ। इजाजत रद्द गरी महानगरीय अपराध ४ जनाको हतियार बरामद गरेको हो।
वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, आङकाजी शेर्पा र रघुनाथ पुरीको हतियार प्रहरीले बरामद गरेको हो।
वीरेन्द्रलाल श्रेष्ठ प्रहरीका बिचौलिया र मिटर ब्याज धन्दाका नाइकेका रुपमा चिनिन्छन्। उनको धेरै प्रहरी अधिकारीहरुसँगै राम्रो सम्बन्ध छ।
‘क्यासिनो किङ’का उपनामले चिनिने बले जुवा धन्दाका नाइके हुन्। विजयकुमार गच्छेदार गृहमन्त्री हुँदा उनले हतियारको लाइसेन्स लिएका थिए। हाल निलम्बनमा रहेका सहसचिव चुडामणि शर्मा काठमाडौं सिडिओ हुँदा उनलाई लाइसेन्स दिएका थिए। गुन्डागर्दीको आरोपमा उनी विगतमा पटक पटक पक्राउ परे। त्यस्तै आङकाजी गुन्डागर्दीमा संलग्न व्यक्ति हुन् भने पुरी म्यानपावर सञ्चालक हुन्। पुरीले हतियारको दुरुपयोग गरी विभिन्न व्यक्तिहरुलाई तर्साउने गरेको प्रहरी स्रोत बताउँछ।
उनीहरुले लाइसेन्स लिएका हतियार दुरुपयोग गरेकोले इजाजत रद्द गरिएको काठमाडौंका सिडिओ केदारनाथ शर्माले बताए।
सिडिओ कार्यालयले इजाजत रद्द गरेपछि अपराध महाशाखाले हतियार बरामद गरेको हो।
सुरक्षा थ्रेट नाममा उनीहरुले विगतमा लाइसेन्स लिएका थिए। सुरक्षा थ्रेटका आधारमा नभई विगतमा सोर्सफोर्सका आधारमा हतियारको लाइसेन्स दिने गरिएको थियो। जसकारण लाइसेन्स प्राप्त हतियारको दुरुपयोग हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।