काठमाडौं– संरक्षित वन्यजन्तु सालकको खपटासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्र अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले रामेछापबाट ठूलो मात्रामा सालकको खपटासहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका– ३ का ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ छन्। उनीहरुलाई रामेछापको मन्थली नगरपालिका–१ देवकोटा चोकबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ।
उनीहरुको साथबाट २५ किलो सालकको खपटा बरामद भएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए।
उनीहरुबाट बरामद भएको खपटा नेपालमै पाइने सालकको हो। सीआईबी स्रोतका अनुसार उनीहरुले २५ किलो खपटा निकाल्न कम्तीमा पनि ७५ वटाजति सालक मारेका हुनसक्ने देखिएको छ।
उनीहरुले उक्त खपटा कहाँबाट कसरी ल्याए भन्नेबारे भने अनुसन्धान भइरहेको एसपी महतोको भनाइ छ।
उनीहरुमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय रामेछाप, मन्थलीमा बुझाइएको सीआईबीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।