पोखरा– प्रदेश ४ को प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी गरेका छन्। संसद् बैठक सुरू भएलगत्तै कांग्रेस सांसदले प्रदेश नामांकनको विषय उठाएर विरोध गरेका हुन्। पहिले नै टेबुल भएका विधेयक तथा प्रस्तावमाथि छलफल हुनुपर्ने माग राख्दै कांग्रेसले संसद् बैठक अवरोध गरेको हो।
प्रदेशको गरिमा राख्नुपर्ने, नामको टुंगो हुनुपर्ने मागसहित नाराबाजी गरिएपछि संसद बैठक बस्न सकेको छैन।
कांग्रेसले प्रदेशको नामांकनमा पहिले निर्णय गरेर मात्रै बैठक अगाडि बढाउनुपर्ने माग राखेको छ। बजेट सार्वजनिक हुनुअघि नै प्रदेशको नाम टुंगो लगाउनुपर्ने भए पनि नियतवश नामका विषयमा छलफल नचलाएको कांग्रेस सांसदहरुको आरोप छ।
२ बजे बस्ने भनिएको संसद बैठक सहमति जुट्न नसकेपछि पौने ५ बजे सुरु भएको थियो। तर बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक रोकिएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले भने नाम राख्ने विषय दीर्घकालीन असर पर्ने कुरा भएकाले हतारमा निर्णय गर्न नहुने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।