प्रतीकात्मक तस्वीर काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा जान इच्छुक श्रमिक लागि लिइएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ। विभागले परीक्षा भएको दोस्रो दिन नै नतिजा सार्वजनिक गरेको हो। विभागले सोमबार सञ्चालन गरेको परीक्षाको परीक्षाफल मंगलबारै सार्वजनिक गरेको हो।
विभागका अनुसार एक हजार ३९५ जना महिला र ६४४ पुरुष गरी कुल दुुई हजार ३९ जनाले भाषा उत्तीर्ण गरेका छन्। इजरायल जान चार हजार २ सय महिला र पाँच हजार ४९९ पुरुष गरी नौ हजार ६९९ जनाले आवेदन दिएका थिए। विभागका निर्देशक कमल ज्ञवालीले भाषा परीक्षामा छनोट भएका उम्मेद्वारहरूको आगामी असोज १ गतेबाट व्यावसायिक सीप विकास प्रतिष्ठान भैंसेपाटी ललितपुरमा उचाइ र तौल परीक्षण तथा अन्तर्वार्ता हुने जानकारी दिए। उनका अनुसार छनोट भएका उम्मेद्वार उचाइ र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुन पाउनेछन्।
विभागका अनुसार आवेदक २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्छ । योअनुसार उचाइ र तौल नहुने उम्मेद्वारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ।
विभागका अनुसार तोकिएको शैक्षिक योग्यता, तालिमका प्रमाणपत्र एवं अनलाइन दरखास्तका साथ पेस गरिएका कागजात प्रमाणित नभएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ। यसका लागि शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा एक वर्ष तीन महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने कुरा मापदण्डमै उल्लेख गरिएको छ।
नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुुसारेका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो । सरकार टु सरकार (जीटुजी)मार्फत इजरायलमा केयरगिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।