काठमाडौं– एउटै जग्गा २ जनालाई बिक्री गर्न खोजेर करिब ६९ लाख रुपैयाँ ठगी गरेको ओरोपमा १ जना युवक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले सुनसरीको धरान नगरपालिका–९ घर भइ काठमाडौं बस्दै आएका ३६ वर्षीय रुसिल कटुवाललाई पक्राउ गरेको हो।
पक्राउ परेका कटुवाल र मोरङ केराबारी गाउँपालिका–६ घर भएका धिरज दाहालले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ का उद्धवप्रसाद अधिकारीलाई जग्गा किनिदिने भनेर ६८ लाख ९० हजार रुपैयाँ ठगी गरेको पाइएपछि पक्राउ गरिएको महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए।
दाहालको मोरङ केराबारीमा रहेको जग्गा अधिकारीलाई बेच्ने भन्दै उनीबाट ६८ लाख ९० हजार रुपैयाँ लिएपछि उनीहरु सम्पर्कबिहिन भएका थिए। जग्गा पास नभएपछि मापलोत कार्यालय मोरङमा गएर बुझ्दा बैना गरिएको उक्त जग्गा अन्य व्यक्तिले नै किनिसकेको पाइएपछि अधिकारीले आफू ठगिएको भन्दै अपराध प्रहरीमा उजुरी दिएका थिए।
अधिकारीको उजुरीका आधारमा कटुवाल पक्राउ परे पनि दाहाल भने फरार रहेका छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।