प्रतिकात्मक तस्वीर
काठमाडौं– संघीय राजधानी काठमाडौंमै बोक्सी भन्दै एक महिलामाथि निर्घात कुटपिट भएको छ। बोक्सी भन्दै कुटपिट गरेको आरोपमा पीडित महिलाका श्रीमान्सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान्, दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे छन्। उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
घटना भदौ २० गतेको हो। स्वयम्भू ठूलोभर्याङ बस्दै आएका थिङ झारफुक गर्ने व्यक्ति भएका पाइएको छ। ललितपुर लुभुकी ३० वर्षीया महिलालाई पेट दुख्ने समस्या देखिएपछि उनका श्रीमान्ले पाण्डेले चलाउँदै आएको ट्याक्सीमा राखेर थिङ निवास ठूलोभर्याङ पुर्याएका थिए।
थिङले ठूलोभर्याङमा होटल पनि सञ्चालन गर्दै आएका छन्। उक्त होटलमा थिङसहित महर्जन पनि थिए। ती महिलाका श्रीमान्, ट्याक्सी चालक, होटलमा रहेका मर्हजन समेत रहेका बेला झारफुक गर्ने थिङले महिलालाई झारफुक गर्न थालेका थिए। सो क्रममा थिङले महिलाको शरीरमा बोक्सी चढेको भन्दै कुटपिट गरेको प्रहरी स्रोतले दाबी गरेको छ। झारफुक गर्ने थिङकै आग्रहमा महिलाका श्रीमान्सहित अरुले पनि ती महिलालाई कुटपिट गरेको प्रहरीले दाबी गरेको छ।
कुटपिटबाट महिलाको शरीमार निलडाम समेत रहेको प्रहरीले जनाएको छ। बोक्सी भन्दै कुटपिट गरेपछि ती महिलाले श्रीमान्सहित चार जनालाई विपक्षी बनाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। महिलाले जाहेरी दिएपछि प्रहरीले चारै जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनाविरुद्ध बोक्सी आरोप कसूरमा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।