काठमाडौं– सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत् नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ प्रावधानले स्वदेशी उत्पादन बढाउन र देशभित्र औद्योगिक वातावरण बनाउन सहयोग गर्ने नेपाल फलामे छड उत्पादक संघले बताएको छ।
संघले स्वदेशभित्रै विलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शून्यमा झार्नु स्वागतयोग्य कदम भनेको छ।
‘यसले देशभित्रै कच्चा पदार्थमार्फत् विलेट उत्पादन गर्न र सो विलेटमार्फत् स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने, देशभित्रै लगानी बिस्तार गर्न, भविष्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्नेछ’, संघले भनेको छ।
बजेटमा आएका नयाँ व्यवस्थाले स्वदेशी पूँजी र सिपमार्फत् देशभित्र ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने संघले बताएको छ।
‘कोभिड–१९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरिनबाट बचाउनुका साथै सरकारलाई समेत राजश्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने यस एशोसिएसनको ठहर छ’, विज्ञप्तिमा भनिएको छ।
सरकारले बजेटमार्फत् डण्डी बनाउन चाहिने विलेट स्वदेशमा नै उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्जको भन्सार शून्य गर्नुले देशभित्रै उद्योगहरुले लगानी बिस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।