काठमाडौं- अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ।
यस सेवाअन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम पाँच पटक वा पाँच हजार रुपैयाँ र दैनिक तीन पटक वा पाँच हजार रुपैयाँसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्ने छन्।
त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्नेले ५० प्रतिशतसम्मको क्यासब्याक पाउने कम्पनीको भनाइ छ।
'यदि बैंक ट्रान्सफर शुल्क २० रुपैयाँ भएमा १० रुपैयाँ क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ,' खल्ती डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले भने, 'हामीले ग्राहकहरुको अमूल्य सल्लाह तथा सुझावलाई पहिलो प्राथमिकतामा राखी यस निःशुल्क पैसा पठाउन सकिने सुविधा कार्यान्वयनमा ल्याएका हौं। हामीलाई विश्वास छ यो सेवाले ग्राहकहरुको समय र पैसा बचत गर्न थप टेवा पुर्याउनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।