महेन्द्रनगर, धनुषा- धनुषाको मिथिला नगरपालिका–७, ढल्केवरमा तीन दिनदेखि जंगली हात्तीले आतंक मच्चाएको छ।
गत बुधबार राति जंगलबाट गाउँ पसेका तीन हात्तीले दुई घर भत्काउनुका साथै किसानको बालीनाली समेत नष्ट गरेका छन्। अहिलेसम्म ढल्केवर, एक्लेबर र केवलीपुर गरी तीन टोलमा दुई दर्जनभन्दा बढी घरमा हात्तीले क्षति पुर्यााएको छ भने किसानको बालीनालीलाई समेत नष्ट गरेको छ। ती हात्तीलाई इलाका प्रहरी कार्यालय, ढल्केवरका प्रहरीले पाँच राउण्ड हवाई फायर गरी धपाएर जंगल छिराएको थियो। तर पछि पनि ती हात्ती राति पुनः गाउँमा पसेर आतंक मच्चाएको स्थानीय विष्णु बस्नेतले गुनासो गरे।
यद्यपि अहिलेसम्म हात्तीको आक्रमणबाट कुनै मानवीय क्षति भएको छैन। हात्तीले रातिराति गाउँ पसेर आतंक मच्चाउन थालेपछि स्थानीय बासिन्दा त्रस्त हुँदै सुत्नसमेत छाडेका छन्। रातभर जाग्राम बसेर आआफ्नो जीउधनको सुरक्षा गर्न थालेको स्थानीय जितेन्द्र सिंहले बताए। उनीहरुले हात्ती धपाएर शान्ति सुरक्षा कायम गरिदिन प्रशासनसँग गुहार मागेका छन्।
धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले तीन वटै हात्तीलाई सुरक्षित ठाउँमा पुर्यारएर गाउँबासीलाई समेत सुरक्षित पार्ने विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयका प्रतिनिधिसँग छलफल भइरहेको बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।