काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेसको वडा तहको अधिवेशन गर्ने/नगर्नेमा विवाद देखिएको छ।
कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्ल र निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमद्वारा जारी विज्ञप्तिले वडा अधिवेशनको अन्योल थपिएको छ। निर्वाचन अधिकृतले भदौ २५ का लागि वडा अधिवेशनको मिति तोकेका छन्। निर्वाचन अधिकृतले सार्वजनिक गरेको तालिकाको विरुद्धमा जिल्ला सभापति मल्लले विज्ञप्ति निकालेका छन्।
जिल्लाबाट पठाइएको क्रियाशील सदस्यतामा व्यापक धाँधली भएकाले भदौ २५ मा वडा अधिवेशन हुन नसक्ने मल्लले जनाएका छन्। क्रियाशील सदस्यताको नामावलीमा व्यापक हेरफेर तथा थपघट भएको उनले बताए। निर्वाचन समितिले पठाएको अधिवेशन सामग्री बमले पार्टीलाई नबुझाएको मल्लले आरोप लगाएका छन्।
जिल्ला कार्यसमितिको बैठकको पुस्तिकामा निर्वाचन अधिकृतले हस्ताक्षर गर्न अस्वीकार गरेको आरोप लगाउँदै मल्लले वडा अधिवेशन स्थगित गरेको सूचना सार्वजनिक गरेका छन्। जिल्ला सभापति मल्ल संस्थापनइतरका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।