नेपालमा फेटल कार्डियोलोजी सेवा भित्रिएको एक दशकभन्दा बढी भए पनि यो प्रविधिबारे धेरै प्रचार प्रसार हुन सकेको छैन। भ्रुणको मुटुको अवस्थाबारे विस्तृत जानकारी दिने यो एक प्रकारको भिडियो एक्सरे (अल्ट्रासाउन्ड) हो।
गर्भ रहेको १८ देखि २२ हप्तासम्म यो अल्ट्रासाउन्ड गर्नुपर्छ। यसबाट भ्रुणको मुटुमा केही समस्या छ कि छैन भन्ने थाहा पाइन्छ। त्यसैगरी मुटुमा अस्वाभाविक प्वाल छ कि छैन भन्ने पनि जानकारी हुन्छ। यो एकदमै सरल र सुरक्षित प्रविधि हो।
यसबाट भ्रुणको मुटुमा जोडिएको र फोक्सोसहित शरीरको विभिन्न भागमा जाने रगतको ठूलो नलीमा समस्या भए/नभएको समेत पत्ता लाग्छ। यति मात्र नभइ भ्रुणको मुटुमा पानी जम्ने समस्या छ भने पनि पत्ता लाग्छ। यस्ता समस्याको समयमा नै उपचार सम्भव हुन सक्छ।
विशेषगरी, परिवारका अन्य सदस्यमा पहिला नै मुटुको समस्या देखिएका ३० वर्ष उमेरभन्दा माथिका गर्भवतीको जाँच अनिवार्य हुन्छ। त्यस्तो महिलाले अनिवार्य फेटल कार्डियोलोजी सेवा लिन जरुरी छ। धेरै पटक गर्भपतन भइसकेका महिलाले पनि अल्ट्रासाउन्ड गर्न आवश्यक हुन्छ।
नेपालको सन्दर्भमा विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवतीका लागि यसको जरुरी अझ बढी देखिन्छ। किनभने, नेपालजस्तो विकासोन्मुख देशमा भ्रुण अवस्थामा नै धेरै समस्या आएको पाइन्छ र त्यसबारे परिवारका मानिसहरुलाई पर्याप्त जानकारी छैन। गर्भमा रहेको शिशु र आमाको सुत्केरी अवस्थामा ज्यान पनि जान सक्छ।
त्यही भएर अल्ट्रासाउन्डबाट गर्भवतीले आफ्नो गर्भमा आएको भ्रुणको अवस्था परीक्षण गराउनु पर्छ। यसले सुरक्षित सुत्केरी गराउन सहयोग गर्छ। यो सेवा साधारण भिडियो एक्स–रेभन्दा केही महँगो छ। तर, सर्वसाधारणले व्यहोर्नै नसक्ने खर्चिलो छैन। गर्भवतीले प्रायः एक पटक गरे पुग्छ। तर, कहिलेकाँही भ्रुण घोप्टो परेर बसेको अवस्थामा वा अन्य जटिल समस्या हुँदा एक पटकभन्दा बढी गर्नुपर्ने अवस्था आउन पनि सक्छ।
सन् २०१६ मा बासँबारीस्थित गंगालाल अस्पतालले २५१ जना गर्भवतीमा अनुसन्धान गर्दा १५ प्रतिशतको भ्रुणमा मुटुको केही न केही समस्या देखिएको थियो। हुन त धेरै जस्तो विकसित देशमा अस्पतालले गर्भवतीलाई अनिवार्य जाँच गराएका हुन्छन्। तर, हाम्रो देशमा यो विषयबारे प्रचार प्रसार नै भएको छैन। जसले गर्दा शिशु जन्मिसकेपछि विभिन्न समस्या देखिने गरेको छ। यदि भ्रुणकै अवस्थामा कुनै गम्भीर समस्या देखिए सुत्केरी गराउनुअघि पूर्वतयारी गर्न सकिन्छ। अझ गर्भमा नै भ्रुणको उपचारसमेत गर्न सकिन्छ।
-कुराकानीमा आधारित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।