काठमाडौं- नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच आनका सदस्य एजेन्सीहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ। यससम्बन्धी सम्झौतापत्रमा आइतबार आनका अध्यक्ष सोमप्रसाद धिताल र बैंकका अध्यक्ष प्रध्युम्न पोखरेलले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थाहरूलाई दुई वर्षका लागि १५ लाख रुपैयाँसम्मको बिनाधितो कर्जा प्रवाह गर्नेछ। आनका हाल डेढसयभन्दा बढी विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्बन्धित रहेर व्यवसाय गर्दै आएका छन्।
हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोखरेलले आजको सहकार्यले विज्ञापन व्यवसायीको आर्थिक रुपान्तरणमा बैंक सहयोगी बन्ने अवसर मिलेको बताए। उनले मुक्तिनाथ विकास बैंकले फरक ढंगले आफ्ना ग्राहकहरूलाई सेवा दिँदै आएकाले लोकप्रिय हुन सकेको बताउँदै विज्ञापन व्यवसायीलाई सर्वसुलभरुपमा सहुलियत कर्जा दिन बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।
आनका अध्यक्ष धितालले यो सहकार्य विज्ञापन व्यवसायी र बैंकको हितका लागि पनि सहयोगी हुने बताए। उनले कोरोना महामारी र लकडाउनका कारण समस्यामा रहेका विज्ञापन व्यवसायीलाई यो सहुलियत कर्जाले उनीहरूको क्षमता अभिवृद्धि गर्न र आर्थिक सवलीकरणका लागि मद्दत पुग्ने बताए।
धितालले आजको सम्झौताले मुक्तिनाथ विकास बैंकसँग विज्ञापन व्यवसायीहरूले पनि सहकार्य गर्न प्रेरित गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।