काठमाडौं– डिजिटल कार्गो सेवा प्रदायक ‘उपाय सिटी कार्गो’ले काठमाडौं उपत्यकामा बाइकमार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ।
डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष्य बोकेको उपाय सिटी कार्गोले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा उपत्यकामा ढुवानी सुरु गरेको हो। बाइकमार्फत सेवा सुरु गरेसँगै ससाना वस्तु तथा पार्सल डेलिभरीका लागि सहज हुनेछ।
समावेशीकरणमा ध्यान केन्द्रित गर्दै आफ्ना कार्यमा लैंगिक समानताका साथै वातावरणीय सचेत रही अघि बढ्ने उपाय सिटी कार्गोका अध्यक्ष सुमन रायमाझीले बताए।
उपायले टेक्नोलोजी प्लेटफर्मको सदुपयोग गरी उत्पन्न गरेको रोजगारी केही महिना अघिसम्म अस्तित्वमा नरहेको र अहिले टेक्नोलोजी प्लेटफर्मको साथ, नेपालमा नयाँ रोजगारी सृजनाको ठूलो सम्भावना उजागर गरेको सीपका परियोजना प्रमुख बल्जित वोहराले बताए।
सीप र उपाय सिटीकार्गोको साझेदारीले आप्रवासी कामदार, महिला र अन्य सामाजिक तथा आर्थिक रूपले विपन्न समूहलाई लक्षित गर्दै उपायले २ हजार ड्राइभर/दुई पाङ्ग्रे राइडर साझेदारलाई डिजिटल साक्षरता, ई–बैंकिङ र ग्राहक सेवामा ध्यान केन्द्रित गर्दै स्वरोजगार सिर्जना गर्न प्रशिक्षण दिने जनाइएको छ।
भारी सामान तथा पार्सल कार्गो गर्न चाहनेले उपाय सिटी कार्गोको मोबाइल एप वा अफिसियल वेबसाइटमार्फत आवश्यक सवारी बुकिङ गर्न सक्नेछन्। सवारी तत्कालका लागि वा तालिका सेट गरेर बुकिङ गर्न सकिने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।